आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

संविधानलाई पुनर्जीवन दिने कर्तव्य न्यायाधीशहरुको हातमा छ : प्रवक्ता शर्मा

गोकर्णेश्वर खबर२० असार २०७८, आईतवार २२:०६ मा प्रकाशित (२ साल अघि) २६१ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने बताएका छन् ।

आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वोच्च अदालतले संविधानको पुनर्जीवन दिने अपेक्षा गर्नुपर्ने बताएका हुन् ।

उनले अदालतले फैसला गर्दा त्यसले समाजलाई पार्ने दूरगामी प्रभावलाई समेत केन्द्रमा राख्ने गरेको भन्दै संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधीशहरुको हातमा रहेको बताए । ‘न्यायको फैसला गरिदै गर्दा संविधानको चिसा अक्षरहरुलाई मात्रै होइन । त्यसले समाजलाई पार्ने दुरगामी प्रभावलाई पनि केन्द्रमा राखिन्छ । त्यो राख्ने कर्तव्य अहिले पनि सम्मानित संवैधानिक इजलासका न्यायमूर्तिहरुको छ’ उनले भने ।

प्रवक्ता शर्माले लोकतन्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्ने पनि बताए । उनले विद्यार्थी आन्दोलनले समानता र सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको पनि औँल्याए । उनले भने, ‘लोकतन्त्रका लागि लोकतान्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्छ । विद्यार्थीहरु बेरोजगारको पीडालाई सम्बोधन गर्ने भनेर जाँदै गर्दा उनीहरु भित्र समानताको समाजका लागि सामाजिक रुपान्तरणको मुद्दा विद्यार्थी आन्दोलनको मुद्दा बन्नुपर्छ ।’