आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

रिपब्लिकलाई २-१ ले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश

गोकर्णेश्वर खबर२० असार २०७८, आईतवार ००:४० मा प्रकाशित (२ साल अघि) २७३ पाठक संख्या

काठमाडौं । क्‍वार्टरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोलको नतिजामा पराजित गर्दै डेनमार्क युरो २०२० को सेमिफाइनलमा पुगेको छ ।

शनिबार राति अजरबैजानको बाकुमा भएको खेलमा सहज जित निकाल्दै डेनमार्क १९९२ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो ।

डेनमार्कले खेलको पाँचौँ मिनेटमा थोमस डेलानेले गरेको गोलसँगै अग्रता लिएको थियो । जेन्स स्ट्रिगर लार्सेनले बायाँतर्फबाट प्रहार गरेको कर्नरलाई ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै डेलानेले डेनिस साइडलाई अग्रता दिलाएका थिए ।

चेक टोलीमाथि हाबी बनेको डेनमार्कले पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा कास्पर डोलबर्गको गोलसँगै अग्रता दोब्बर पारेको थियो ।

जोहाकिम मेहेलेले बायाँतर्फबाट गरेको क्रसलाई ६ यार्ड बक्स भित्रबाट ट्याप इन गर्दै डोलबर्गले डेनमार्कको अग्रता दोब्बर पारेका थिए ।

पहिलो हाफमा २-० ले पछि परेको चेक टोलीले दोस्रो हाफको सुरुआतदेखि नै निरन्तर आक्रामक शैली अपनाएको थियो । जसको फलस्वरुप खेल पुनस् सुरुआत भएको ४ मिनेट नबित्दै चेक टोलीले एक गोल फर्कायो ।

जारी सिजन उत्कृष्ट फर्ममा रहेका फरवार्ड प्याट्रिक शिकले ४९औं मिनेटमा गोल गर्दै चेक रिपब्लिकलाई खेलमा फर्काएका थिए । तर, थप गोल गर्न नसक्दा डेनमार्कले २-१ को अग्रता जोगाउँदै २९ वर्षपछि अन्तिम ४ मा स्थान सुरक्षित गर्‍यो ।

यसअघि अन्तिम पटक डेनमार्क १९९२ मा सेमिफाइनलमा मात्रै पुगेको थिएन, उपाधि पनि जितेको थियो । तर, समग्रमा भने डेनिस टोलीको यो तेस्रो सेमिफाइनल हो ।

डेनमार्क १९८४ मा पनि युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको थियो । डेनमार्कले आजै हुने इङ्ल्यान्ड र युक्रेनबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छ ।