आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

वागमती प्रदेशसभा बैठक विपक्षी दलद्धारा अवरुद्ध

गोकर्णेश्वर खबर१९ असार २०७८, शनिबार १९:०२ मा प्रकाशित (२ साल अघि) २४८ पाठक संख्या

हेटौंडा । वागमती प्रदेशको प्रदेशसभा बैठक विपक्षी दलहरु नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले अवरुद्ध पारेका छन् । शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०७८/७९ को बजेटमाथिको छलफल प्रारम्भ भएलगत्तै विपक्षी दलका शीर्ष नेताहरुले बोलेर बैठक अवरुद्ध पारेका हुन् ।

प्रदेश सरकारले वजेट वक्तव्य दुईवटा प्रकाशन गरेको, आफैं सञ्चारगृह सञ्चालन गर्न बजेट छुट्याएको, तयारी नगरी सुरुङमार्ग र विद्युतीय बस सञ्चालनको विषय वजेटमा राखिएको भन्दै विपक्षी दलहरुले विरोध जनाएका हुन् ।

वैठकमा बजेट छलफल सुरु हुनेवित्तिकै माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले स्थानीय तहमा जाने सशर्त अनुदान बजेट पूर्वाग्रही ढंगले विनियोजन गरेको आरोप लगाए । उनले सशर्त अनुदानको बजेट नसच्याएसम्म छलफल अघि नबढ्ने बताए ।

उनले सुरूङमार्ग र विद्युतीय बस सञ्चालनबारे बजेट वक्तव्यमा उल्लेख गरिएको विषय हटाउन माग गरे । ऐन नै नभएको अवस्था र देश आर्थिक रूपमा टाट पल्टने अवस्थामा प्रदेश सरकारले आफै संचारगृह चलाउन नहुने जम्मकट्टेलले बताए ।

कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विपदको चपेटामा परेको सिन्धुपाल्चोकलाई सरकारले झुक्याएको बताए । उनले पूर्वाग्रही ढंगले बजेट विनियोजन र कार्यान्वयन गरेको र सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने संघीय सरकारको इकाइ बनेको आरोप लगाए ।

बानियाँले बजेट पुस्तिका दुई ढंगको आउनु गलत भएको भन्दै एउटै पुस्तक बनाएर नल्याएसम्म संसद चल्न नदिने बताए । विपदमा परेका जिल्लालाई सरकारले नहेर्ने हो भने कांग्रेसले आफ्नो सेवा सुविधा जनताको राहतमा खर्चिन तयार रहेको पनि बानियाँले बताए ।

उनले स्वतन्त्र सञ्चारगृह चलाउन सहयोग गर्नुभन्दा सरकार आफैंले सञ्चारगृह चलाएर नराम्रो कुरा पनि राम्रो भनेर प्रचार गर्न खोजेकाले बजेट फिर्ता लिनुपर्ने धारणा राखे ।

बैठकमा विवेकशील साझाका सांसद रमेश पौड्यालले विधि र प्रक्रिया विपरीत बजेटका २ वटा पुस्तक छापेर अनधिकृत काम भएको बताए । उनले वजेट वक्तव्यका दुईवटा पुस्तक प्रकाशित गरेर संसदको अवहेलना गरेको भन्दै मुख्यमन्त्रीसँग जवाफ माग गरे । प्रदेश सरकारले सञ्चारगृह सञ्चालन गर्न खोजेकामा पनि सांसद पौड्यालले आपत्ति जनाए ।

सांसद सुरेन्द्रराज गोसाईले प्राकृतिक विपद र कोभिड-१९ को मारमा परेका जनतालाई बजेटले सम्बोधन गर्न नसकेको बताए । प्रदेश सरकारले सञ्चारगृह चलाउने र विद्युतीय बस सञ्चालन गर्नेबारे वृहत् छलफल आवश्यक रहेको उनको भनाइ छ ।

विपक्षी सांसदले संसद वैठक अवरुद्ध पारेपछि सभामुख सानुकुमार श्रेष्ठले आइतबार विहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।