आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

युरोकप : इटाली र स्पेन सेमिफाइनलमा

गोकर्णेश्वर खबर१९ असार २०७८, शनिबार १५:०५ मा प्रकाशित (२ साल अघि) २०२ पाठक संख्या

काठमाडौं । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।

जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरेका थिए । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काएका थिए ।

खेलको ३०औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४४औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २ शुन्यको अग्रता दिलाए । उनले एकल प्रयासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल इटालीले २-१ गोल अन्तरले जित्यो।

यो जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने किर्तिमान समेत बनाएको छ ।

इटालीले अघिल्लो खेलमा ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । यसअघि इटालीले सन १९३५ को अक्टोबर देखि जुलाई सन १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।

अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगिसकेको छ ।

‘गोल्डेन जेनेरेसन’ टिम बेल्जियम भने क्वाटरफाइनलबाट बाहिरिएको छ ।

यसअघि बेल्जियमले साविक विजेता पोर्चुगललाई १ शुन्य गोल अन्तरले हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको थियो ।

इटालीले प्रि–क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको बिबिसीले जनाएको छ ।