आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

मर्स्याङ्दीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो

गोकर्णेश्वर खबर१८ असार २०७८, शुक्रबार १२:२८ मा प्रकाशित (२ साल अघि) ५८७ पाठक संख्या

गोरखा । अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ ।

गोरखा नगरपालिका १४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ ।

‘तनहुँको एक्लेफाँटतर्फ जिप राखेको जमीन भासिएर पुलको दुवै पोल नदिमा पुगेको छ’ गोरखा नगरपालिका वडानम्बर १४ का अध्यक्ष रामबहादुर खड्काले भने, ‘जमीन भासिने क्रम अझै रोकिएको छैन ।’ एक्लेफाँट र गोप्लिङ बस्ती जोखिममा रहेको उनले बताए ।

यो पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, सलाङगिरीलगायतका स्थानीय आउजाउ गर्थे । गोरखातर्फ रहेको धार्मिक स्थल अकला मन्दिर आउजाउ गर्ने पनि त्यही झोलुङ्गे पुल रहेको उनले जानकारी दिए ।

पुलमा क्षति पुगेसँगै अहिले सो क्षेत्रमा आउजाउ गर्न बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए । ‘पुल चुडियो भनेर हामीलाई बिहान खवर आयो, सूचना पाउने बित्तिकै हामीले त्यो क्षेत्रमा सर्वसाधारणलाई आउजाउमा रोक लगाएका छौं,’ उनले भने ।