आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कर्णाली नदीको पक्की पुल भासियो,४० करोड लगानीको पुल बग्ने खतरा

गोकर्णेश्वर खबर१२ असार २०७८, शनिबार २१:५६ मा प्रकाशित (२ साल अघि) ३२१ पाठक संख्या

धनगढी । हुलाकी राजमार्ग अन्तर्गत पर्ने कर्णाली नदीमाथिको पक्की पुल भासिएको छ।

कैलाली र बर्दिया जोड्ने राजापुरको पक्की पुल एक छेउमा कटान भएपछि पुल भासिन थालेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदीको छालले पुलको बर्दियातिरको अन्तिम पिल्लर र जमिनबीचको माटो बगाएपछि जोखिम बढेको हो।

कैलालीका सहायक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकेनद्रसिंह गुरुले पुल भासिएपछि आवतजावत बन्द गरिएको बताए। त्यो स्थानमा कैलाली र बर्दिया दुबै जिल्लाबाट प्रहरी टोली खटिएको छ।

टीकापुर नगरपालिका–८ का वडा अध्यक्ष दीर्घ ठकुल्लाले पुलको आधा भाग कर्णालीमा ढाकिएको बताए। उनले अहिले बाटो पूर्णरुपमा अवरोध भएको जानकारी दिए।

‘पुलको अन्तिम पिल्लर नदीकै बीचमा छ। त्यहाँ पर थप दुई पिल्लर राख्नुपर्ने हामीले माग गरेका थियौं, निर्माण गर्दा ध्यान नदिएपछि अहिले यस्तो भएको हो,’ उनले भने।

स्थानीयले भनेअनुसार पिल्लर थप नगरी नदी किनारमा माटोले पुरेर अग्लो बनाई बाटो बनाइएको थियो। निर्माण सकिएदेखि नै त्यहाँ कटान भइरहेको ठकुल्लाले बताए।

‘ठेकेदारले आफ्नो जिम्मामा भएसम्म पाँच वर्ष वर्सेनी जाली हाल्ने, त्यो फेरि नदीभित्र पर्ने भइरहेको थियो। उसको पाँच वर्ष सकियो। यो वर्ष फेरि भत्किन सुरु भयो,’ उनले भने।

बर्दियाको राजापुर नगरपालिका–४ का अध्यक्ष रमनकुमार रेगमीले नदीभन्दा पुल सानो भएकाले कटानको चपेटामा परेको बताएका छन्।

पुलको छेउतिरबाट माटो बग्न थालेपछि ४० करोड लगानीको पुल बग्ने खतरा बढेको उनले बताए।

‘पूर्व भागको तटबन्ध पानीले लगेर पुलभन्दावारि नदी आउला जस्तो भएको छ,’ उनले भने।

अहिले बर्दियाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको टोली पुलको अवस्थाबारे बुझ्न कर्णाली नदी पुगेका छन्।