आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

बागमती प्रदेश सरकारले जनताको अपेक्षा भन्दा पनि कार्यकर्ता पोस्ने प्रकृतिको बजेट ल्यायो : सांसद लामा

गोकर्णेश्वर खबर१० असार २०७८, बिहीबार ११:३८ मा प्रकाशित (२ साल अघि) ४१६ पाठक संख्या

काठमाडौं ।  नेपाली काँग्रेसका सचेतक छिरिङ दोर्जे लामाले बागमती प्रदेश सरकारले कार्यकर्ता पोस्ने प्रकृतिको बजेट ल्याएको र योजना बाँडफाँट गर्न नसक्दा बजेटमाथि छलफल हुन नसकेको बताएका छन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमा व्यापक फरकपन हुँदा कार्यकर्ताहरूमा योजना बाँड्न समस्या भएकाले प्रदेशसभामा बजेटमाथिको छलफलमा ढिलाइ भएको सांसद लामाले बताए ।

बजेट वक्तव्य सार्वजनिक भएको १÷२ दिनमै प्रदेश सरकारले विनियोजन विधेयक ल्याउनुपर्ने भए पनि कार्यकर्ताहरूमा योजनाको बाँडफाँट टुङ्ग्याउन समस्या परेकाले बजेटमाथिको छलफल पनि रोकिएको उनको भनाइ छ ।

बजेटमाथिको छलफलका क्रममा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भन्दै उनले प्रदेश सरकारले जनताको अपेक्षा अनुसारको बजेट ल्याउन नसकेको र कार्यकर्ता रिझाउनका लागिमात्र बजेट ल्याएको आरोप लगाए ।

प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷०७९ को बजेटमाथि प्रदेशसभामा छलफल हुन सकेको छैन । असार १ गते संसद्मा बजेट प्रस्तुत भएलगत्तै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

प्रदेशसभाको बैठकमा बजेटमाथि पर्याप्त छलफल गरी आवश्यक सल्लाह सुझावसहित संशोधन गरी बहुमतले पारित गर्नुपर्ने हुन्छ तर बागमती प्रदेशमा बजेटमाथिको छलफल नै सुरु हुन सकेको छैन । प्रदेशसभामा बजेट प्रस्तुत भएको हप्ता दिन बितिसक्दा समेत बजेटमाथि छलफल हुन नसकेपछि अन्योल बढेको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि पनि पर्याप्त छलफल नगरी ह्वीप लगाएर जबर्जस्ती पारित गरेको विपक्षी दलहरूको आरोप छ । सोही नीति तथा कार्यक्रमलाई समेटेर प्रदेश सरकारले बजेट तर्जुमा गरेको भन्दै जनताप्रति सरकार उत्तरदायी हुन नसकेको उनीहरुको भनाइ छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट प्रस्तुत गरेको छ ।
प्रदेश सरकारले पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ, चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ र वित्तीयतर्फ २ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।