आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

फ्रान्स र पोर्चुगल २-२ गोलको बराबरीमा रोकिए,रोनाल्डोले गरे कीर्तिमान बराबरी

गोकर्णेश्वर खबर१० असार २०७८, बिहीबार १०:०९ मा प्रकाशित (२ साल अघि) ४८५ पाठक संख्या

काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २-२ गोलको बराबरी खेल्दा क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बराबरी गरेका छन् ।

रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका हुन् । उनले १७७ खेल खेल्दै १०९ गोल गरेका हुन् । अली दाइले १४९ खेलमा उक्त उपलब्धि हासिल गरेका थिए ।

खेलमा तीन गोल पेनाल्टीबाट भएको थियो । जसमा रोनाल्डोले दुवै गोल पेनाल्टीबाट गरेका थिए ।

हंगेरीको पुस्कास एरेनामा भएको खेलको ३१औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पहिलो पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा फ्रान्सका करिम बेन्जामाले पेनाल्टीबाटै बराबरी गोल फर्काए ।

४७औं मिनेटमा बेन्जामाले गोल गर्दा फ्रान्सले अग्रता बनायो तर ६०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमै गोल गर्दै खेल बराबरी गरे ।

यस युरोकपमा रोनाल्डोको यो पाँचौ गोलसमेत हो ।

यस बराबरीपछि फ्रान्स ५ अंक जोड्दै समूह एफको विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । यस्तै ४ अंक जोडेको पोर्चुगल जर्मनीसँग हेड टु हेडमा पछि पर्दै तेस्रो स्थान रहे पनि तेस्रो मध्ये उत्कृष्ट टिम बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

जहाँ अब फ्रान्सले स्विट्जरल्याण्डसँग खेल्नेछ भने पोर्चुगलले बेल्जियमसँग खेल्नेछ ।