आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

स्थानीय तहको वजेट आज आउदै

गोकर्णेश्वर खबर१० असार २०७८, बिहीबार ०७:०७ मा प्रकाशित (२ साल अघि) ४४७ पाठक संख्या

काठमाडौँ । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन्  । कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । केही स्थानीय तहले बल्ल नीति र कार्यक्रम पेस गरी बजेट सभामा पेस गर्ने तयारी गरेका छन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै स्थानीय तहलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र पेस गर्न आग्रह गरिसकेको छ । सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सङ्घीय र प्रदेश सरकारले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन्  ।

यस वर्ष स्थानीय तहले यस अगाडिका अधुरा योजना कार्यान्वयन, स्थानीय तहका जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष भएकाले निर्वाचनका क्रममा जनतासामु गरिएका वाचा पूरा गर्ने, आवधिक योजनालाई कार्यान्वयन गर्ने गरी बजेट ल्याउन लागेका छन् । त्यस्तै कोरोनाबाट सिर्जित समस्या समाधान र स्थानीय विकास निर्माण प्राथमिकतामा छ ।

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले कोभिडको महामारीबाट नागरिकको जीवन उत्थान गर्ने, अर्थतन्त्रको शीघ्र पुनरुत्थानका गतिविधि सञ्चालन गर्ने कार्यक्रम समावेश गरी स्थानीय तहले बजेट ल्याउने तयारी गरेका बताउनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने र सहकारीको उच्चतम परिचालनबाट अर्थतन्त्रको निर्माण गर्ने गरी बजेट निर्माण गर्न सबै स्थानीय तहलाई आग्रह गरिएको छ ।