आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

सिन्धुपाल्चोक बाढी-पहिरो पीडितका लागि गोकर्णेश्वर-६ का स्थानियद्धारा राहत सामाग्री हस्तान्तरण

गोकर्णेश्वर खबर७ असार २०७८, सोमबार १९:१८ मा प्रकाशित (२ साल अघि) ९४० पाठक संख्या

काठमाडौं । सिन्धुपाल्चोकमा गत मंगलबार आएकोे भीषण बाढी-पहिरोका कारण विस्थापित भएका परिवारहरुका लागि काठमाडौंको गोकर्णेश्वर-६ स्थित सिर्जनशिल बस्तीका स्थानीयले खाद्यान्नसहितको राहत सामाग्री हस्तान्तरण गरेका छन् ।

छिमेकी जिल्ला सिन्धुपाल्चोकमा बाढी-पहिरोका कारण विस्थापित भएका मध्ये १०० भन्दा बढी परिवारलाई पुग्ने खाद्यनसहितको राहत सामाग्री मेलम्ची स्थित सेनाको कार्यालयमा प्रमुख सेनानी निर्मल श्रेष्ठ र जिल्ला समन्वय समिती संयोजक कृष्ण गोपाल तामाङको रोहबरमा हस्तान्तरण गरिएको हो । गोकर्णेश्वर नगरपालिका-६ स्थित सिर्जनशिल टोल समाज र सयपत्री महिला समुहद्धारा राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

राहतवितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर-६ का अध्यक्ष रमेश अर्यालसहितको टोली मेलम्ची पुगेको थियो । अध्यक्ष अर्यालले बाढी पहिरोबाट पीडित बनेका सिन्धुबासीलाई आफ्नो वडाबासीले उदारता देखाएर गरेको सहयोग अत्यन्तै प्रशंसनीय भएको बताए ।

अध्यक्ष अर्यालले बाढी पीडितको दुखेको घाउमा राहत सामाग्रीले थोरै भएपनि मल्हम लगाउने विश्वास लिए ।

सिर्जनसिल टोल समाजका अध्यक्ष दिपक गिरीले एउटा नेपालीलाई दुख्दा अर्को नेपालीलाई पनि दुख्ने भएकोले आफूहरुले टोल छिमेकको सहयोगमा राहत सामाग्री ल्याएको बताए ।

राहत सामाग्रीहरुमा १०८ बोरा चामल,२१६ केजी दाल, २१६ केजी चिनी, १०८ वटा ब्याल्याङ्केट, सिरक डस्ना, नुन, तेल, सेनीटेरी प्याड, लगायतका दैनिक उपभोग्य समाग्री रहेको सयपत्री महिला समाजकी अध्यक्ष मनिषा कटुवालले जानकारी दिइन ।

विभिन्न संघ संस्था व्यक्तिहरुले हस्तान्तरण गरेको राहत समाग्री एकद्धारा प्रणाली मार्फत पीडितहरुलाई वितरण गर्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बाढी पहिरोका कारण १५ जनाको मृत्यु भएको छ भने २३ जना अझै वेपत्ता रहेका छन् ।