आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

टिपरको ठक्करबाट धनकुटा कांग्रेस सचिव थापाको निधन

गोकर्णेश्वर खबर७ असार २०७८, सोमबार १८:०७ मा प्रकाशित (२ साल अघि) ४८६ पाठक संख्या

धनकुटा । मोरङमा टिपरको ठक्करबाट नेपाली कांग्रेस धनकुटाका सचिव कृष्ण थापाको निधन भएको छ।

धनकुटाबाट झापा जाने क्रममा गएराति ७ः४० बजे मोरङको विराटचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा थापासहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका ४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको हो।

थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव हुन्। शाह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी हुन्।

दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ। दुर्घटनामा परेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकलका कृष्णबहादुर आफैंले चलाएका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पूर्वपश्चिम राजमार्गमा पर्ने सुन्दरहरैँचा नगरपालिका ९ विराटचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले विपरीत दीशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको शाह सवार २९ प ९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो। थापा चढेको मोटरसाइकल पनि त्यसरी नै सँगै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

दुबै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार राति ९ः३० बजेतिर मृत्यु भएको हो ।

जिल्ला सचिव थापाको आजै मुलघाटस्थित तमोर नदिमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस धनकुटाले जनाएको छ।

यसैबीच पार्टी सचिवको शोकमा नेपाली कांग्रेस धनकुटा र मातहतका सबै कार्य समितिको पार्टी कार्यालयमा झण्डा झुकाएर तीन दिनसम्म कार्यालय बन्द रहने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए।

४५ वर्षिय थापाका बुवा फणिन्द्र थापा, आमा नानीमाया थापा, श्रीमती कमला थापा, छोरी सिर्जना थापा र छोरा रोमियो थापा छन्।

धनकुटा जिल्ला प्राख्रिवास नगरपालिका वडा नं. ७ मुगा निवासी युवा नेता थापा नेपाली कांग्रेस धनकुटा र राप्रपा धनकुटाबीच गत चैत अन्तिममा समायोजनको क्रममा नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिको सचिवको जिम्मेवारी लिइ पार्टी संगठन विस्तार र सुदृढीकरण अभियानमा सक्रिय थिए।