आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

उपत्यकामा निषेधाज्ञा एकसाता थपियो, यी क्षेत्रमा खुकुलो (आदेशसहित)

गोकर्णेश्वर खबर३० जेष्ठ २०७८, आईतवार १९:०३ मा प्रकाशित (२ साल अघि) ९२८ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । एक अधिकारीका अनुसार थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् ।

उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अलनाइन होम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको उनले बताए ।

यस्तै शैक्षिक सत्र सुरु हुने वेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय भएको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्न दिने निर्णय भएको हो ।

अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजिकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजिकरण गर्ने निर्णय भएको छ । विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजिकरण गर्ने निर्णय भएको छ ।

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले नपाएको उनले बताए ।