आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सांसद वैद्यलाई कांग्रेसले भन्यो -‘विवास्पद अभिव्यक्ति फिर्ता लिइ आत्मालोचना गर्नुस्’

गोकर्णेश्वर खबर२९ जेष्ठ २०७८, शनिबार ११:०८ मा प्रकाशित (२ साल अघि) ६२० पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेश सांसद नरोत्तम वैद्यलाई प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छ।

प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उनलाई सचेतसमेत गराइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन, प्रवक्ता शर्माको विज्ञप्तिमा भनिएको छ, आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन।

शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने शर्माले बताएका छन्।

हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन, विज्ञप्तिमा भनिएको छ,पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ।

शुक्रबार प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए।