आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

जसपा ठाकुर पक्षका ४ मन्त्रीलाई बर्खास्त गरेका मुख्यमन्त्री राउतले कांग्रेस र माओवादीलाई सरकारमा ल्याउँदै

गोकर्णेश्वर खबर२६ जेष्ठ २०७८, बुधबार १७:०४ मा प्रकाशित (२ साल अघि) ४१८ पाठक संख्या

जनकपुरधाम । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका चार जना मन्त्रीलाई बर्खास्त गरेका प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सत्ता टिकाउनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ खोजेका छन्।

उनले बरू मन्त्रालय नै फुटाएर भए पनि कांग्रेस र माओवादीले माग गरेअनुसारकै संख्यामा मन्त्रालय दिने तयारी गरिरहेका छन्। मन्त्रालय फुटाउनेबारे मंगलबार मन्त्रिपरिषद बैठकमा छलफलसमेत भएको थियो।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले कांग्रेस र माओवादीलाई सरकारमा सामेल गराउन मन्त्रालय फुटाउने तयारी पूरा भइसकेको बताए।

सरकारमा सहभागी हुनेबारे छलफल भए पनि कुनै पनि सहमति भइनसकेको कांग्रेस र माओवादीका संसदीय दलका नेताहरू दाबी गर्छन्।

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश नम्बर २ सरकारमा सामेल हुनेबारे छलफल भए पनि यतिउति मन्त्रालय लिनेबारे केही कुराकानी नभएको बताए।

‘हामीलाई कुन मन्त्रालय दिने वा कति मन्त्रालय दिने भन्नेलगायत विषयमा अहिलेसम्म कुनै कुरा नै आएको छैन,’ उनले भने, ‘मन्त्रालय फुटाउनेबारे चर्चा भएको भने सुनेका छौं।’

माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले सरकारमा सहभागी हुने गरी अहिलेसम्म कुनै सहमति नभएको बताए। सरकारमा सहभागिताबारे सैद्धान्तिक कुरा मात्रै अगाडि बढेको उनको दाबी थियो।

‘मन्त्रालय कति दिने भन्नेबारे केही छलफल भएको छैन। हामी त सरकारमा जान तयार नै छौं,’ उनले भने।

तर कसलाई कुन मन्त्रालय दिने भन्नेबारे छलफल भइसकेको कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव बताउँछन्। ‘कांग्रेसलाई भौतिक मन्त्रालय दिने कुरामा दुई पक्षबीच लगभग सहमति भइसकेको छ,’ उनले भने, ‘माओवादीलाई सामाजिक विकास मन्त्रालय दिने भन्ने कुरा छ।’

उनले प्रदेश नम्बर २ मा सहभागिताबारे जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेर सरकारमा जानेबारे सहमति गरिसकेका छन्।

कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मन्त्रालय संख्या १० वटा बनाउने गरी मुख्यमन्त्री राउतले मन्त्रालय फुटाउन लागेका हुन्। कुन कुन मन्त्रालय फुटाएर कुन कुन मन्त्रालय बनाउने भन्ने यकिन भइसकेको छैन।

स्रोतका अनुसार कांग्रेसले ३ र माओवादीले २ मन्त्रालय मागेका छन्।

जसपाको महन्थ ठाकुर पक्ष केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा गएपछि अर्का अध्यक्ष उपेन्द्र यादव रूष्ट छन्। यादव निकट रहेका मुख्यमन्त्री राउतलाई जसपाका ५५ सांसदमध्ये ३६ जनाको साथ छ।