आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

बौद्ध नयाँबस्तीमा भेटिएको बोराभित्र मानव शरीरका केही अंग भेटिए

गोकर्णेश्वर खबर२५ जेष्ठ २०७८, मंगलवार १३:१३ मा प्रकाशित (२ साल अघि) ९५५ पाठक संख्या

काठमाडौँ । काठमाडौको बौद्धस्थित नयाँबस्तीमा फ्याकिएको बोराभित्र मानव शरीरका केही अंग भेटिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बोरा भित्र शवको केही अंग भेटिएको हो । परिसर प्रमुख एसएसपी अशोक सिंहले भने, ‘स्थानीयले खबर गरेपछि हामी घटनास्थल पुगेका थियौं । बोरा भित्र काटीएको अवस्थामा शवको केही अंग मात्र भेटिएको छ ।’

एसएसपी सिंहका अनुसार शव विभत्स तरिकाले हत्यापछि फ्याँकिएको पाइएको छ । एसएसपी सिंहले भने, ‘परालले बेरेर शव बोरामा प्याक गरी फ्याँकिएको अवस्थामा फेला परेको प्रकृति हेर्दा केही दिनअघि नै हत्या भएको जस्तो देखिएको छ ।’

शवको पैतालाको भाग र हड्डीहरुमात्रै भेटिएकाले मृतक को हो भन्नेबारे पहिचान खुल्न नसकेको एसएसपी सिंहले बताए । पैतालाको अवशेष हेर्दा अधबैंसे मानिसको जस्तो देखिएको उनले बताए ।

शव पोस्टमार्टम र डीएनए प्रोफाइलका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

मंगलबार बिहान घटनाको जानकारी पाएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सिंह र महाशाखाका कुवेर कडायतसहितका प्रहरी अधिकारी घटनास्थल पुगेका थिए । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।