आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

आजदेखि देशभर ज्येष्ठ नागरिकलाई खोप लगाइँदै

गोकर्णेश्वर खबर२५ जेष्ठ २०७८, मंगलवार ०८:१३ मा प्रकाशित (२ साल अघि) ४२५ पाठक संख्या

काठमाडौं । सरकारले आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान सुरु गर्दैछ । चीनबाट अनुदानमा प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसहरुलाई पहिलो मात्रा लगाउन थालिएको हो।

आजदेखि २९ जेठसम्म चल्ने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकामा मात्रै एक लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिइएको छ। देशभर ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकको संख्या चार लाखभन्दा धेरै छ। चीनले अनुदानमा दिएको १० लाख डोज खोप उनीहरुलाई लगाउन लागिएको हो।

सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबैलाई खोप लगाउने भनिएको थियो। तर, खोपले नपुग्ने देखिएपछि उपत्यकामा ६० देखि ६४ र बाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहलाई छनोट गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

काठमाडौं महानगरपालिकाका सबै वडाहरुमा खोप लगाउने व्यवस्था गरिएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए। त्यसैगरी भक्तपुरमा पनि सबै स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था गरिएको छ।

काठमाडौं महानगरपालिकाले खोपको लागि ३२ वटा खोप केन्द्र तोकेको मेयर शाक्यले जानकारी दिए। ललितपुरका पनि सबै स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था गरिएको स्थानीय प्रशासनले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन जाँदा सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य लिएर जान भनेको हो।

खोप लगाउन जाँदा अनिवार्य नाक, मुख राम्ररी छोपिने गरी मास्क लगाउन, स्यानिटाइजर साथमै बोक्न, खोप लगाउने बेला पनि मास्क लगाइरहन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार खोप लगाएपछि झन्डै आधा घण्टासम्म खोप केन्द्रमै बस्नुपर्छ। घर फर्किएपछि साबुनपानीले मिचिमिची हात धुनु पर्ने मन्त्रालयले जनाएको छ।

जेष्ठ नागरिकसँगै आउने परिवारका अर्को जेष्ठ सदस्य भए उनलाई पनि पालो नहेरीकन खोप लगाउन सहजीकरण गरिने काठमाडौं महानगरपालिकाका मेयर शाक्यले बताए। महानगरको खोप तालिका अनुसार २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिइने छ।