आज: २३ बैशाख २०८२, मंगलवार | Tue, 06, May, 2025

एकता आत्मसमर्पण होइन,पार्टी कब्जा गर्नका लागि हो : योगेश भट्टराई

गोकर्णेश्वर खबर२१ जेष्ठ २०७८, शुक्रबार १८:१८ मा प्रकाशित (३ साल अघि) ४५१ पाठक संख्या

काठमाडौं । एमाले वरिष्ठ नेता माधव नेपालपक्षीय केन्द्रीय सदस्यहरूको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ता गरेका नेताहरूले आफ्नो धारणा राखेका छन्।

दोस्रो दिन जारी भर्चुअल बैठकमा नेताहरू योगेश भट्टराई र गोकर्ण विष्टले आफ्ना धारणा राखेका छन्।

आफ्ना धारणा राख्ने क्रममा भट्टराईले एकताको प्रयासमार्फत् पार्टी कब्जा गर्ने नीतिलाई आत्मसमर्पण भन्न नमिल्ने दाबी गरेका थिए।

‘केपी ओली पक्षसँग गरिएको वार्ता जेठ २ को अवस्थामा पार्टीलाई पुर्‍याउनका लागि गरिएको हो। यो हाम्रो सामूहिक संघर्षलाई निष्कर्षमा पुर्‍याउने योजना हो,’ भट्टराईको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘एकता आत्मसमर्पण होइन। एकता ओलीको स्वेच्छाचारिता स्वीकार गर्नलाई पनि होइन, विधिबाट र प्रक्रियाबाट संगठन चलाउन पार्टी कब्जा गर्नका लागि हो।’

ओली पक्षसँगको वार्तामा सहभागी अर्का नेता विष्टले वार्ताको प्रयासलाई कमजोरीका रुपमा बुझ्न नहुने बताएका थिए।
पार्टीको गौरव र आन्दोलन बचाउने उद्देश्यका साथ गरिएको इमान्दार प्रयासलाई गैरक्रान्तिकारी भन्न नमिल्ने उनको तर्क थियो।

उनले पार्टीको गौरव र आन्दोलनको बचाउका लागि परिणाम आउने गरी गरिएका संवाद गरिएको समेत दाबी गरेका थिए।