आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई दलबाट निष्कासन गरेसँगै सांसद पद पनि चैट

गोकर्णेश्वर खबर२० जेष्ठ २०७८, बिहीबार १४:१५ मा प्रकाशित (२ साल अघि) ४४८ पाठक संख्या

पोखरा । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । उनलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो ।

सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए ।

थापालाई जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी यसअघि नै निलम्बन गरेको थियो । थापाले पार्टी नीति विपरीत सरकारलाई साथ दिने बताएपछि सांसद पदबाटै निष्कासन गर्न प्रदेशसभालाई जानकारी गराएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जनामात्र रहने भएका छन् । राष्ट्रिय जनमोर्चाले नेकपा एमालेबाहेकको दलको सरकारमा बनाउने निर्णय गरे पनि थापाले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक रुपमा नै बताएका थिए ।