आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

हामी एकताको विपक्षमा छैनौं,तर ओली सहमतिमा बस्न तयार नहुने हो भने अब धेरै अलमल गर्न हुन्न : नेता नेपाल

गोकर्णेश्वर खबर१९ जेष्ठ २०७८, बुधबार १८:०२ मा प्रकाशित (२ साल अघि) ३८५ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए एमाले एकताको अझै सम्भावना रहेको बताएका छन् । जनसंगठनहरूको भर्चुअल बैठकमा नेता नेपालले एकता प्रयासले सार्थक रुप नलिइरहेको बताए ।

‘हामी एकताको विपक्षमा छैनौं । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन,’ नेता नेपालको भनाइ थियो । बैठकमा सहभागी नेता जयन्ती राईका अनुसार पार्टीभित्र देखिएको विवाद हल गर्न गठन भएको कार्यदलको आधिकारिक वार्ता नभएको नेता नेपालले जानकारी दिएका छन् । केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्ने गरेको नेता नेपालको भनाइ थियो ।

‘हामी पनि एकताको विपक्षमा छैनौं । तर केपी ओली सहमतिमा बस्न तयार नहुने हो भने धेरै अलमल गर्न हुन्न भन्ने धेरैजसो सहभागीहरुले सुझाव दिएका छौं,’ राईले भनिन् । बैठकमा अध्यक्ष ओली निकट जनसंगठनका नेताहरुले जारी गरेको वक्तव्यप्रति आपत्ति जनाइएको थियो ।

‘पार्टीबाट निष्कासन गर्ने निर्णय भएमा स्वागत गर्छौ भनेर विज्ञप्ति जारी गरियो । केपी ओलीकै निर्देशनमा विज्ञप्ति आएको हो भन्ने छलफल भयो । यस्तो विज्ञप्तिले एकता जोगाउन सकिन्न,’ राईले भनिन् ।

जनसंगठनका नेताहरुले वार्ता गर्ने भए समय तोकेर प्रयत्न गरिनुपर्ने, नत्र अलग पार्टी निर्माणमा लाग्न नेताहरुले सुझाव दिएका छन् । तर वार्ताको नाममा धेरै अलमल गरिन नहुने जनसंगठनका नेताहरुको भनाइ थियो । बैठकले जनसंगठनका नेताहरुले संयुक्त वक्तव्य जारी गर्ने पनि निर्णय गरेको छ ।