आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

ढुंगा, गिटी, बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार भएको भन्दै प्रतिरोध गर्न गगन थापाको आह्वान

गोकर्णेश्वर खबर१९ जेष्ठ २०७८, बुधबार १२:४८ मा प्रकाशित (२ साल अघि) ५३५ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु नीतिगत भ्रष्टाचार भएको बताएका छन्।
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्तो कार्यक्रम समावेश गरेको थापाको भनाइ छ।

नदीजन्य पदार्थ निकासी गरी व्यापार घाटा कम गर्ने भन्दै बजेटमा सरकारले यस्तो कार्यक्रम घुसाएको थापाको भनाइ छ।

उनले बुधबार ट्वीट गर्दै सरकारले ल्याएको जनविरोधी कार्यक्रमलाई सफल हुन नदिने पनि बताएका छन्। उनले यस्ता कार्यक्रम रोकेरै छाड्ने बताएका छन्।

यस्तो छ थापाको भनाइः

संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ।

वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ।

यो नीतिगत भ्रष्टाचार हो। आफ्ना यारुलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लङ्ग भएको छ।

चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको हो।

यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।

अदालतको आदेश, संसदीय समितिका पटकपटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै।

आमजनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गर्दछु।