आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

आज चीनबाट ९ लाख डोज कोरोनाविरुद्धको खोप ल्याइँदै

गोकर्णेश्वर खबर१८ जेष्ठ २०७८, मंगलवार ०६:४१ मा प्रकाशित (२ साल अघि) ५२७ पाठक संख्या

काठमाडौं । चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख खोप मध्ये ९ लाख डोज खोप आज काठमाडौं आइपुग्ने भएको छ । ८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप चीनकै स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदानमा प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरिसकेको छ । सो विमानले आज दिउँसो २ बजेसम्म ८ लाख खोप नेपाल ल्याइपुर्याउने भएको छ ।

त्यस्तै, चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको झन्डै १ लाख डोज खोप हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत क्रमशः आज १ लाख र भोलि १ लाख डोज ल्याउने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार तीन खेपमा चीनबाट भेरोसिल खोप नेपाल ल्याइने तयारी भएको हो । यो खोपको दिइने प्राथमिकतामा ज्येष्ठ नागरिक रहेका छन् ।

उच्च जोखिम समूहमा रहेकालाई खोप दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले बताए । उनले भने, ‘खोप आएलगत्तै कुन समूहलाई लगाउने भन्ने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्नेछ,’ उनले भने, ‘सम्भवतः ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने सम्भावना बढी रहन्छ । खोप आउने थप सुनिश्चितता भए ठूलो संख्यामा लगाउन सकिनेछ ।’

डा. पोखरेलका अनुसार संक्रमण जोखिम हेरेर ठाउँ विशेषमा खोप लगाउन सकिने र राष्ट्रिय खोप कार्ययोजनाअनुसार अभियान अघि बढ्नेछ ।

खोप उपलब्धताको आधार अनुसार ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये ‘कसलाई पहिले दिने ?’ भन्ने तय गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६५ वर्षमाथि ९ लाख बढी र झन्डै साढे १४ लाख ज्येष्ठ नागरिक दोस्रो मात्रा खोपको पर्खाइमा छन् ।