आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनको मतदान जारी,खड्का र पाण्डेको प्रतिस्पर्धा

गोकर्णेश्वर खबर१७ जेष्ठ २०७८, सोमबार १२:१२ मा प्रकाशित (२ साल अघि) ४३५ पाठक संख्या

बुटवल । राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा उपनिर्वाचन शुरु भएको छ ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन गरिएको हो ।

प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि मतदान जारी छ । मतदाताहरु दूरी कायम गरी मतदान केन्द्रमा लामबद्ध भएका छन् ।

निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार बिहान साढे नौ बजेसम्म मुख्यमन्त्री शंकर पोखरेलसहित ५८ जनाले मतदान गरेका छन् । मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको र मतदान सकिएलगत्तै गणना शुरु हुने कुँवरले बताए । प्राविधिक समस्या नआए आजै मतपरिणाम सार्वजनिक हुने उनले बताए ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।

उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु २१७ गरी जम्मा ३०० जना मतदाता छन् ।

जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डे, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकार दिएको छ ।