आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपाल–इराक मैत्रीपूर्ण फुटबलः इराकसंग नेपाल ६–२ गोल अन्तरले पराजित

गोकर्णेश्वर खबर१६ जेष्ठ २०७८, आईतवार ०६:४३ मा प्रकाशित (२ साल अघि) ४५० पाठक संख्या

काठमाडौं । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको छ ।

इराकको बसरास्थित अल फायना स्टेडियममा शनिबार भएको खेलमा नेपाल बलियो टिम इराकसंग ६–२ गोल अन्तरले पराजित भएको हो ।

खेलकाे पहिलो हाफमा इराकले ४–२ गोल अन्तरको अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो ।

नेपालका लागि मनिस डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यु गरेका थिए ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको प्रशिक्षक बनेपछि नेपाली राष्ट्रिय फुटबल टिमको यो पहिलो अन्तराष्ट्रिय खेल हो ।

खेलको सातौं मिनेटमै अला अब्दुल जाहरा खासिनले फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर नवौं मिनेटमा नेपालले एक गोल गरी खेल बराबरीमा ल्याएको थियो ।

नेपालका अन्जन विष्टको प्रहार बचाउने क्रममा इराकका अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए ।

खेलको १४औं मिनेटमा नेपालले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो । अन्जन विष्टले पेनाल्टी एरिया भित्र गोलकिपरसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार इराकी गोलकिपरले बचाए ।

खेलको २९औं मिनेटमा मनिस डाँगीले गोल गर्दै नेपाललाई २–१ गोल अन्तरको अग्रता दिलाए । मनिसले यही खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गर्दै डेब्यु खेलमै गोल गरेका हुन् ।

खेलको ३९औं मिनेटमा मोहम्मद अब्दुलजाहराले इराकका लागि बराबरी गोल फर्काए । लगत्तै अर्को मिनेटमा अयेन हुसेनले गोल गर्दै इराकलाई ३–१ गोलको अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी टाइममा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ गोलको अग्रता दिलाए ।

खेलको ६७औं मिनेटमा मोहम्मेद रिदा एल एलायमीले गोल गर्दै इराकलाई ५–२ गोलको अग्रता दिलाए । खेलको ७५औं मिनेटमा सजाद जसमी अलसाराफीले गोल गर्दै इराकलाई ६–२ गोलको अग्रता दिलाए ।

खेलमा नेपालका गोलकिपर कप्तान किरण चेम्जोङले केही राम्रा बचाउ समेत गरेका थिए । नेपाली टोली अब विश्वकप छनोटका बाँकी ३ खेल खेल्न कुवेत जानेछ ।