आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कोरोना खोप २ करोड १७ लाख नेपालीलाई लगाउनेबारे सरकारको यस्तो तयारी

गोकर्णेश्वर खबर१५ जेष्ठ २०७८, शनिबार ०९:२५ मा प्रकाशित (२ साल अघि) ४८९ पाठक संख्या

काठमाडौं – सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउनुपर्ने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जेठ २० गतेसम्म चीन सरकारले अनुदानमा दिने भनेको १० लाख मात्रा भेरोसेल खोप आइपुग्ने जानकारी दिए ।

कोभिड–१९ विरुद्धको १० लाख मात्रा भेरोसिल खोपमध्ये २ लाख आईतवार र बाँकी ८ लाख डोज २० जेठसम्म आइपुग्ने भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार चीनबाट ५० लाख, अमेरिकाबाट ५० लाख र भारतबाट १७ लाख मात्रा खोपका लागि परिपत्र गरिएको छ । अस्ट्रेजेनिकाको खोप स्टकमा रहेकाले अमेरिकासँग खोप उपलब्ध गराउन आग्रह गरिएको तर प्रक्रिया झन्झटिलो भएकाले केही ढिलो हुनसक्ने देखिएको मन्त्री ज्ञवालीले बताएका छन् ।

सन् २०२१ भित्र आमनागरिकलाई खोप लगाउने गरी सरकार अघि बढिरहेको ज्ञवालीले बताएका छन् ।

भारत सरकारलाई १७ लाख कोभिसिल्ड खोप उपलब्ध गराउन सहजीकरणका लागि पत्राचार गरिएको छ । सरकारले अमेरिकी खोप निर्माता कम्पनी जोन्सोनसँग ५० लाख र चिनियाँ खोप उत्पादक सिनोफार्मसँग ५० लाख डोज खरिदका लागि प्रस्ताव पठाएको छ ।

‘कोभ्याक्सअन्तर्गत नेपालले १९ लाख मात्रा खोप गत मार्चसम्म पाइसक्नुपर्ने थियो,’ उनले भने, ‘हालसम्म कोभ्याक्समार्फत् ३ लाख ४८ हजार मात्रा खोप प्राप्त भएको छ । कूटनीतिक प्रयत्न जारी रहेको छ ।’

विभिन्न मुलुकसँग खोप खरिद वा अनुदान विषयमा छलफल भइरहेको बताउँदै मन्त्री ज्ञवालीले हप्तादिनभित्र ‘ब्रेक थ्रू’ हुने प्रष्ट पारेका छन् । खोपका लागि ३६ अर्ब बजेट स्रोत सुनिश्चित गरिएको छ ।

सरकारले चीनको भेरोसेल, रुसको स्पुतनिक भी, अमेरिकाको जोन्सन एन्ड जोन्सन र बेलायतको अस्ट्राजेनेका खोप प्राप्तिका लागि पहल गर्दै आएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा। तारानाथ पोखरेलले दोस्रो डोज खोप लगाउने समयावधि विषयमा छिट्टै निर्क्यौल गरिने बताए ।

‘दोस्रो मात्रा कहिले लगाउने भन्नेबारे छिट्टै निर्णय हुनेछ, खोप अभाव भएकै कारण १२ हप्ताभित्र लगाउनुपर्ने कोभिडसिल्ड लगाउने समय घर्किएको हो,’ पोखरेलले भने, ‘हालसम्म अनुमानित ४ लाख ५० हजार नागरिकले पहिलो र दोस्रो मात्रा लगाएका छन् ।’ आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।