आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने इमाडोलको कम्पनीमा प्रहरीको छापा

गोकर्णेश्वर खबर९ जेष्ठ २०७८, आईतवार १७:४८ मा प्रकाशित (२ साल अघि) ५४३ पाठक संख्या

काठमाडौँ– गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने कम्पनीमा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको छ । प्रहरीले आज ललितपुरको इमाडोलमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा छापा मारेको हो ।

औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गर्दा उक्त कम्पनीको सेनिटाइजरमा २२ प्रतिशतसम्म मानव स्वास्थ्यका लागि हानिकारक मिथानोल अल्कोहल प्रयोग भएको पाइएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिए । परीक्षणपछि प्रयोग गर्न नमिल्ने रिपोर्ट आएपछि छापा मारिएको उनको भनाइ छ ।

कम्पनीका सञ्चालक सुनसरी घर भएका आशिष प्याकुरेल पक्राउ परेका छन् । साथै, १० ट्रक (करिब ३०/४० हजार लिटर) सेनिटाइजर पनि बरामद गरिएको छ । कम्पनी वीरगञ्जमा रहेको भनिए पनि दर्ता नदेखिएको एसपी पंगेनीले जानकारी दिए । उनले कम्पनीको आधिकारिक दर्ताबारे पनि अनुसन्धान भइरहेको बताए ।

कोरोना संक्रमण बढेसँगै सेनिटाइजर प्रयोगकर्ताको संख्या बढ्दा गुणस्तरहीन उत्पादनको बजारमा बिगबिगी बढेको छ । यसबाट उपभोक्ता भने मर्कामा परेका छन् ।