आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कोरोनाले लियो एकैघरका तीन जनाको ज्यान

गोकर्णेश्वर खबर३० बैशाख २०७८, बिहीबार १५:४९ मा प्रकाशित (२ साल अघि) ७१९ पाठक संख्या

दाङ । दाङको गढवा गाउँपालिका वडा नं= ४ मा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ।

मृत्यु हुनेमा ५३ वर्षीय अब्दुल कलाम उनका कान्छा भाइ कान्छा भाइ ४१ वर्षीय मोहमद उमर र उनका छोरा २८ वर्षीय मोहमद रज्जाक छन्।

अब्लुलाई वैशाख ९ गते अलिअलि रिंगटा लागेजस्तो भयो। उनले स्थानीय पत्थरगढवास्थित एक क्लिनिकमा सामान्य उपचार गराए।

उनका छोरा २८ वर्षिय मोहमद रज्जाकले बुवालाई देखाउन भनेर लमहीहुँदै पिसीआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए। अवस्था सामान्य थियो। गढवा ४ का वडाध्यक्ष गुलाम मोहमद जागा मुसलमान पनि बिरामी कलामलाई भेट्न प्रतिष्ठान पुगे।

‘आफ्नो अवस्था सामान्य रहेको उनको हेरचाहमा बसेका छोरालाई कलामले घर पठाउँदै थिए। त्यही बेला कलामको पिसीआर रिपोर्ट पोजेटिभ आयो’, वडाध्यक्ष मुसलमानले भने, ‘त्यो रिपोर्टको खवरले उहाँको चेहरा एकाएक बिग्रियो। त्यसपछि उहाँको ५ मिनेटभित्रै मृत्यु भयो।’

प्रदेशसभा सदस्य इन्द्रबहादुर चौधरीका अनुसार मृत्युपछि कलामको शव वडाध्यक्ष मुसलमानकै पहलमा शव गाउँमै लगेका थिए। आफ्नो धार्मिक परम्परा अनुसार उनको गाउँकै कवरस्थानमा अन्त्येष्टि गरे।

अन्त्येष्टिमा आवश्यक सावधानी नअपनाएको चौधरीले बताए। तर वडाध्यक्ष मुसलमानले भने आवश्यक मापदण्ड पालना गरेरै अन्त्येष्टि गरिएको दाबी गरे।

कलामको अन्तेष्टि पछि उनका कान्छा भाइ ४१ वर्षीय मोहमद उमरलाई ज्वरो आउन थाल्यो। उनले पनि सुरूमा पत्थरगढवाकै क्लिनिकमा सामान्य उपचार गराए।

त्यसपछि लमही आइसोलेनमा बसे, पिसिआर टेस्ट गराए। अकदिन रिपोर्ट पोजेटिभ आयो। अवस्था सामान्य नै थियो। कोरोनाका कुनै लक्षण थिएन। रिपोर्ट आएकै दिन उमरले राति आइसोलेसनमै हिसाब किताव गर्न थाले।

कागजमा घरायसी लेनदेनबारे हिसाब किताव लेखिरहेको देखेपछि कुरूवा बस्न गएका उनका २८ वर्षे छोरा मोहमद रज्जाक एकाएक रून थाले।

वडाध्यक्षले उमरलाई सम्झाए, ‘तँपाईँले मनोबल गिराउने ?, हामीलाई छोडेर जान हिसाब किताव बुझाउन खोज्ने, तपाईँलाई केही हुन्न किन कमजोर बन्नुहुन्छ’, भन्दै उनले गरिरहेको हिसाब किताबको कागज च्यातेर फालेछन् त्यतिनै बेला रज्जाक अचानक बेहोस जस्तै भएछन्।

त्यसपछि छोराको हालत देखेर उनका बुवा उमर थप सिथिल बने। रातारात उमरलाई कोरोना विशेष अस्पताल बेलझुण्डी पुर्‍याइयो। त्यहाँ पुर्‍याएलगतै उनको मृत्यु भयो।

बुवाको मृत्युको खवरले छोरा रज्जाक थप सिथिल बने। उनलाई पनि कोरोना बिशेष अस्पताल बेलझुण्डीमा लगियो। उनलाई पनि कुनै लक्षण वा चिन्ह थिएन। तर, एकाएक उनको अक्सिजनको लेबल घट्दै गयो।

रज्जाक आफैंले वडाध्यक्ष मुसलमानलाई फोन गरि अस्पतालमा अक्सिजन नरहेको र आफू नबाँच्ने भन्दै घर परिवारको ख्याल गरिदिन आग्रह गरे। वडाध्यक्षले तत्काल उनलाई ढाडस दिए। तुरून्तै उनले अस्पतालका ब्यवस्थापक द्रोर्ण वलीलाई फोन गरे।

वडाध्यक्ष मुसलमानका अनुसार १२,१३ पटक फोन गरे पनि फोन उठेन। प्रहरीलाई फोन गर्दा पनि फोन नउठे पछि उनले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई गुहारे। सिडियोको पहलमा राति १ बजे एक सिलिण्डर अक्सिजन बेलझुण्डी पुर्‍याइयो।

वडाध्यक्षका अनुसार उनी बिरामीसँग निरन्तर सम्पर्कमा थिए। अक्सिजन पुगे पनि समयमै अक्सिजन दिइएन। झन्डै एक घन्टा ढिला गरि उनलाई अक्सिजन दिइयो। जतिबेला उनको अवस्था निकै कमजोर भइसकेको थियो। त्यसको केही बेरमै उनको मृत्यु भएको वडाध्यक्ष मुसलमानले जानकारी दिए।

वडाध्यक्षका अनुसार कोरोना अस्पताल प्रशासनले रज्जाकलाई केही नभएको भन्दै बुवाको मृत्युको गहिरो असरले मनोबल कमजोर मात्र भएकाले घर लैजान भनिरहेको थियो।

कमजोर मनस्थितिका कारण आफुलाई सम्हाल्न नसक्दा रज्जाकको मृत्यु भएको दाबी वडाध्यक्ष मुसलमानले पनि गरे। एकै घरका तीन जनाको मृत्युको कारण जे भए पनि रिपोर्ट आएको केही बेरमै लगालग मृत्यु हुनुको पछाडि ‘डर’ कारक भएको वडाध्यक्षले दाबी गरे।