आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

पशुपति चौलागाईँको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

गोकर्णेश्वर खबर२९ बैशाख २०७८, बुधबार १६:२८ मा प्रकाशित (२ साल अघि) ४८१ पाठक संख्या

काठमाडौँ । नेकपा एमालेले प्रदेशसभा सदस्य पशुपति चौलागाईँका निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । उनको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोकपुस्तिका पनि राखिने छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व चौलागाईँको तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जली दिएका छन् । साथै कार्यालयमा शोकपुस्तिका समेत राखिएको छ ।

पार्टी केन्द्रीय सदस्य चौलागाईँको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चौलागाईं दोलखाबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद भएका थिए ।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलागाईँ भद्र, निष्ठावान् र इमान्दार नेता थिए । चौलागाईँको जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे गाउँमा भएको थियो । उनी हाल मध्यपुरथिमिमा बस्दै आएका थिए । पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मिएका उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।