आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

ओलीविरोधी गठबन्धनबाट उपनिर्वाचनमा साझा उम्मेदवार बन्ने शर्तमा राजीनामाका लागि तयार २० एमाले सांसद (सूचीसहित)

गोकर्णेश्वर खबर२९ बैशाख २०७८, बुधबार १३:१५ मा प्रकाशित (२ साल अघि) ४२५ पाठक संख्या

काठमाडौं, २९ वैशाख । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक भविष्य सुनिश्चित हुनेगरी आफूसहित २० प्रत्यक्ष निर्वाचित नेकपा एमाले सांसदलाई राजीनामाका लागि तयार पारेका छन् । सम्भवत उनीहरुले भोलिसम्म राजीनामा दिनेछन् । राजनीतिक लेनदेनमा कुरा मिलेमा आजै राजीनामा हुनसक्छ ।
राजीनामा दिन तयार भएकामा नेपालका अलावा झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, विरोध खतिवडालगायत छन् ।

ओलीविरोधी गठबन्धनसँग राजनीतिक लेनदेनको कुरा मिल्न लागेपछि नेपालले आफू पक्षका सांसदहरुलाई राजीनामाका लागि तयार हुन भनेका छन् । उनले आजै ओलीविरोधी गठबन्धनका नेताहरुलाई भेटी सहमति गर्ने बुझिएको छ ।
नेपालले बहुमतको गठबन्धनको सुनिश्चितताका लागि आफूसहित २० प्रत्यक्ष निर्वाचित सांसदको राजीनामाका लागि शर्तहरु अगाडि सारिसकेका छन् । विश्वस्त स्रोतका अनुसार नेपालले ओलीविरोधी गठबन्धनका नेताहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग चुनावी सरकारमा कम्तिमा ६ महिना प्रधानमन्त्री बन्न पाउनुपर्ने शर्त राखेका छन् । त्यसो नभए विकल्पमा गठबन्धनका दुईजना नेताबीच आलोपालोको लिखित सहमति हुनुपर्ने उनको शर्त रहेको छ ।

माधव नेपालले राजीनामा दिनुअघि उपनिर्वाचनमा आफ्ना २० प्रत्यक्ष निर्वाचित सांसदको जीतको सुनिश्चितताको शर्तलाई पनि प्राथमिकतामा राखेका छन् । मंसिरभित्र उपनिर्वाचन गर्ने र त्यसमा गठबन्धनको साझा उम्मेदवार राजीनामा दिने २० सांसद नै हुनुपर्ने उनको शर्त छ । त्यसमा गठबन्धनका नेताहरु सकारात्मक भएको बुझिएको छ ।

अर्को विकल्पमा देउवा एक वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि अर्को वर्षको मंसिरमा हुने चुनाव माधव नेपाल नेतृत्वको सरकारले गर्ने गरी सहमति बनेमा मात्र राजीनामा दिने नेपालको शर्त देखिएको हो । नभए चुनावी सरकारको नेतृत्व देउवाबाहेक गठबन्धन दलका कुनै नेता प्रधानमन्त्री हुनेगरी शर्त सारेका छन् ।

ओलीको बर्हिगमनका लागि नेपाल समूहका २० जना प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको राजीनामा अनिवार्य भएको छ । त्यसपछि जसपाका आधा सांसदले ओलीविरोधी गठबन्धनलाई साथ दिनुपर्ने हुन्छ । यस्तो अवस्था रहँदा माधव नेपाल निर्णायक शक्ति बनेका छन ।

जनता समाजवादी पार्टी सत्ता समिकरणमा विभाजित अवस्थामा छ । उपेन्द्र यादव समिकरणको पक्षमा छन् । महन्थ ठाकुर विपक्षमा उभिएका छन् । यसले सत्ता राजनीतिलाई रोचक मोडमा पुर्याउँदा नेपालले पनि शर्त सारेको बुझिएको छ । उनको शर्तको टुंगो आजै लगाउने प्रयास चलेको छ ।

नेपाल(खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु
१. झलनाथ खनाल, इलाम १

२. माधवकुमार नेपाल, काठमाडौं २

३. योगेश भट्टराई, ताप्लेजुङ

४. जयकुमार राई,सुनसरी १

५. भवानी खापुङ,तेह्रथुम

६. यज्ञराज सुनुवार, ओखलढुंगा

७. गणेश पहाडी, सिन्धुली १

८. पवित्रा निरौला खरेल, झापा २

९. जीवनराम श्रेष्ठ,काठमाडौं ८

१०. नारायण खतिवडा, नुवाकोट १

११. विरोध खतिवडा,मकवानपुर २

१२. सुरेन्द्र पाण्डे,चितवन १

१३. घनश्याम भुसाल,रुपन्देही ३

१४. गोकर्ण विष्ट,गुल्मी १

१५. मेटमणी चौधरी,दाङ १

१६. झपट रावल, कैलाली २

१७.दिपकप्रकाश भट्ट,कञ्चनपुर ३

१८. भीम रावल, अछाम १

१९. कृष्णलाल महर्जन, ललितपुर २

२०. सोमप्रसाद पाण्डे, पाल्पा २

–फाइल तस्बिर