आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

बागमतीमा संक्रमणबाट एकैदिन ३४ को मृत्यु

गोकर्णेश्वर खबर२९ बैशाख २०७८, बुधबार १२:१० मा प्रकाशित (२ साल अघि) ४९६ पाठक संख्या

हेटौंडा । बागमती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकैदिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौंमा मात्र ११ महिला र सात पुरुष गरी कुल १८ जनाको मृत्यु भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका ४, भक्तपुरका ३, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः २–२, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः १–१जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै बागमती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६ सय ५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।

बागमती प्रदेशमा पछिल्लो २४ घन्टामा चार हजार ६ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा काठमाडौं दुई हजार ७ सय ८८, ललितपुरका ६ सय २, भक्तपुरका ५ सय ३७, रसुवाका एक, नुवाकोटका ७३, धादिङका १ सय १५, चितवनका १ सय २४, सिन्धुलीका ४७, मकवानपुरका १ सय १६, रामेछाप २४, दोलखाका १५, काभ्रे १ सय ५५ र सिन्धुपाल्चोकका ५८ जना छन् ।

बागमती प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३ हजार ३ सय ७५ जना छन् । तीमध्ये संस्थागत आइसोलेसनमा दुई हजार ४ सय ८१, विभिन्न अस्पतालले सञ्चालन गरेको एचडियूमा ३ सय ७८, आइसियूमा ६ सय ९८, भेन्टिलेटरमा २ सय २० उपचाररत रहेका छन् भने ४९ हजार ५ सय ९८ सङ्क्रमितहरू होम आइसोलेसन बस्दै आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।