आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

काठमाडौं उपत्यकामा अत्यावश्यक पसल बिहान १० बजेसम्म खोल्न पाइने

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १६:३२ मा प्रकाशित (२ साल अघि) ४४९ पाठक संख्या

काठमाडौँ– हाल ९ बिहान बजेसम्म मात्र अत्यावश्यक सामग्री बिक्री गर्ने पसल खोल्न पाइने व्यवस्था परिमार्जन गर्दै काठमाडौँ उपत्यकामा बिहान १० बजेसम्म खोल्न पाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार भोलिदेखि लागूहुने गरी खाद्यान्न, फलफूल, तरकारी, दूग्धजन्य पदार्थलगायत दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने भएको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘अनुगमनका क्रममा अत्यावश्यक सामग्री खरिदमा भीडभाड बढेको देखिएकाले त्यसलाई कम गर्न किनमेलका लागि १ घण्टा समय थपिएको हो।’

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार यसअघि १५ जनासम्म भेला भएर ब्याङ्क्वेट र होटलमा विवाह गर्न पाउने नियम पनि परिवर्तन गरिएको छ ।
पराजुलीले भने, ‘यस पटक बैङ्क्वेट र होटलमा हुने विवाहमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय भएको छ । तर घरमा आयोजन गरिने वैवाहिक कार्यक्रममा चाहिँ १० जनाभन्दा कम मानिस मात्रै उपस्थित भएर गर्न पाउँछन् ।’

यसबाहेक जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेक अन्य विकास, निर्माणका काममा रोक लगाउने निर्णय गरेको छ । त्यसैगरी कालिमाटी र बल्खुको तरकारी बजारबाट खुद्रा तरकारी किनबेचमा रोक लगाइएको छ ।

बैंक तथा वित्तिय संस्थाका कार्यालय २५ प्रतिशत मात्र खोल्न निर्देशन दिए पनि त्यसभन्दा बढी खुलेको निष्कर्ष निकाल्दै प्रशासनले अनुगमन गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार उपत्यकाका सरकारी कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गरिएको छ ।