आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

देउवासँग ठाकुर र महतोको विन्ती : हामीले विश्वासको मत दिनौं,जसपा फुटाउनतिर नलाग्नुस्

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार १४:०६ मा प्रकाशित (२ साल अघि) ३७४ पाठक संख्या

काठमाडौं । सत्ता समिकरणमा महत्वपूर्ण मानिएको जनता समाजवादी पार्टीको एक समूहले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतमा आफूहरू तटस्थ बस्ने बताएको छ।

आइतबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीले लिने विश्वासको मतमा आफूहरू तटस्थ बस्ने बताएका हुन्।

बुढानिलकण्ठ बैठकपछि जसपा नेता राजेन्द्र महतोले देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिनुस् भनेको बताए।

उहाँले विश्वासको मत नदिनुस्, विपक्षमा भोट हाल्नुस् भन्नुभयो। हामीले हाम्रा केही माग सम्बोधन भएकाले ओली सरकारको विरूद्धमा मत हाल्न सक्दैनौं। केही माग पुरा भएकाले विश्वासको मतका पक्षमा पनि मत हाल्दैनौं भन्यौं, महतोले भने।

त्यसपछि देउवाले ठाकुर र महतोलाई सत्ता साझेदारीको प्रस्ताव गरेका थिए। अविश्वासको प्रस्ताव फेल भएपछि बन्ने सरकारमा सहकार्य गर्न पनि आफूहरूले अस्वीकार गरेको महतोले बताए।

ुहामी सत्ताको तानातानमा छैनौं। अहिले हाम्रा माग पूरा नभएकाले सत्ता र सरकार हाम्रो पार्टीको प्राथमिकतामा छैन। यसो गर्दा पार्टीलाई फाइदा पुग्दैन, महतोले भने,हामीले देउवाजीलाई तपाईं पनि हाम्रो पार्टी फुटाएर सरकार बनाउनतिर नलाग्नुस् त्यसो गर्नु लोकतान्त्रिक पद्दतिविपरीत हुन्छ भन्यौ।

देउवासँगको कुराकानीका क्रममा चुनावी सरकार बनाउने अवस्था आयो भने आफूहरू सहभागी हुन सक्ने कुरा राखेको महतोले बताए।

ओली सरकारको निरन्तरता कि नयाँ सरकार भन्नेबारे जसपामा दुई लाइन छन्। ठाकुर र महतो लामो समयदेखि प्रधानमन्त्री ओलीसँग नजिक भएका छन् भने नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराई जसरी पनि ओलीलाई फाल्नु पर्ने पक्षमा छन्।

ओलीले विश्वासको मत नपाए भट्टराई र यादवसहितको समर्थनमा नयाँ सरकार बनाउने पहल देउवाले गरिरहेका छन्।

देउवाले उपेन्द्र यादवसँग शनिबार बिहान भेट गरेका थिए।

नेपाली कांग्रेसको संसदीय दलको बैठकले दिउँसो मत नदिने रउनको बहिर्गमनपछि आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो।

आइतबार बिहान देउवासँग भेटेपछि ठाकुर र महतो प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

बालुवाटाको भेटमा आफ्ना नेता तथा कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता के हुँदैछ भनेर आफूहरूले प्रधानमन्त्रीसँग सोधेको नेता महतोले बताए।

जवाफमा प्रधानमन्त्री ओलीले कतिपय मुद्दा अदालतको अनुमतिमा मात्रै फिर्ता लिनेजस्ता काम गर्नुपर्ने खालका रहेको बताएका थिए भने कतिपय मुद्दा फिर्ता भइसकेको उल्लेख गरेका थिए।

यस्तै अध्यक्ष ठाकुर र महतोलाई प्रधानमन्त्री ओलीले विश्वासको मतबारे कुरा के हो भनेर सोधेका थिए। प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भनेका छन्।

‘हामीले विश्वासको मत दिन सक्दैनौं भनेका छौं। हाम्रा माग सम्बोधन भएका छैनन्,’ महतोले भने, ‘विपक्षमा पनि मत दिनौं, हामी तटस्थ बस्छौं भनेका छौं।’