आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

ओलीविरुद्ध उपेन्द पक्ष :प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावविरुद्ध मतदान गर्ने निर्णय

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार १२:५३ मा प्रकाशित (२ साल अघि) ३७१ पाठक संख्या

काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव नेतृत्वको पूर्वसमाजवादी धारले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको प्रस्तावविरुद्ध मतदानका लागि केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलको बहुमतबाट निर्णय गर्ने तयारी गरेको छ ।

यादवनिकट नेता रामसायप्रसाद यादवले अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष नमानेमा बहुमतबाटै निर्णय हुने बताए । ‘सर्वसम्मति भएन भने बहुमतबाट निर्णय गर्ने लोकतान्त्रिक विधि नै हो,’ उनले भने, ‘हाम्रो पहिलो प्रयास सर्वसम्मत निर्णय गराउनेमा हुनेछ, भएन भने पार्टी र दलको बहुमतबाटै ओलीले राखेको प्रस्तावविरुद्ध मतदानमा जाने निर्णय हुन्छ । यसमा कुनै द्विविधा छैन ।

यादव पक्षले केन्द्रीय कार्यकारणी समिति र संसदीय दलबाट आफ्नो पक्षको प्रस्ट बहुमत रहेको दाबी गर्दै आएको छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा लागेका चार सांसदको पद खारेज गर्दा यादव पक्षले केन्द्रीय कार्यकारणी समितिको बहुमत सदस्यको हस्ताक्षर भएको निर्णय सार्वजनिक गरेको थियो । महेन्द्र राय यादवसहित तीन सदस्यले पूर्वराजपा धार छाडेपछि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्ष बहुमतमा पुगेको छ ।

तीनमध्ये महेन्द्र राय सांसदसमेत भएको र पूर्वसमाजवादीमा रहेका सांसद कसैले पनि अहिलेसम्म कित्ता परिवर्तनको घोषणा नगरेकाले संसदीय दलमा पनि यादव पक्ष बहुमतमा देखिएको छ । दलमा दुवै पक्षका १७ र १७ सांसद थिए । तीमध्ये महेन्द्र रायले कित्ता परिवर्तन गरेपछि यादव पक्ष बहुमतमा पुगेको हो । ती समूहका एक,एक सांसद निलम्बनमा छन् ।