आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश जबरा पनि सहभागी,देउवा र सापकोटा भने अनुपस्थित

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार १२:३१ मा प्रकाशित (२ साल अघि) ३५२ पाठक संख्या

काठमाडौँ । संवैधानिक परिषदको बैठक बालुवाटारमा जारी छ ।

परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बालुवाटारमा डाकेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पनि सहभागी छन् ।

गत मङ्सिर ३० मा अध्यादेशमार्फत गरिएका नियुक्तिकाविरूद्धका मुद्दा प्रधानन्यायाधीश नेतृत्वकै संवैधानिक इजलासमा रहेपछि उनलाई बैठकमा नजान कानूनविदहरूले दबाब दिइरहेका थिए ।

सर्वोच्चमा विचाराधिन अवस्थामा रहेकै मुद्दा १७ पटकसम्म स्थगित भइरहँदा प्रधानन्यायाधीश बैठकमा सहभागी हुन नमिल्ने तर्क कानूनविदहरूले गरेका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा भने सहभागी छैनन् ।

परिषद्को अध्यक्षमा प्रधानमन्त्री र सदस्यहरुमा सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश तथा प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन् ।

अघिल्लोपटक जारी भएको अध्यादेशकाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले गत पुस ३ गते सर्वोच्चमा रिट दायर गरेपछि बैठकमा प्रधानन्यायाधीशको सहभागिता विवादित बनेको छ ।