आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

ओलीलाई विश्वासको मत नदिने, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार ०८:२५ मा प्रकाशित (२ साल अघि) ३२८ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ । भर्खरै सम्पन्न बैठकले वैकल्पिक सरकार निर्माणको प्रयास जारी राख्ने, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन बैठकले आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने समेत निर्णय गरेको छ । सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको नेता खाँडको भनाई छ ।

कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको हो ।

प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री ओलीको विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो ।