आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

चीनबाट सिलिन्डर ल्याइने

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार ०८:१४ मा प्रकाशित (२ साल अघि) १८२ पाठक संख्या

काठमाडौँ, वैशाख २६ गते । कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ ।
निगमका सहायक प्रवक्ता सुलेख मिश्रले कोरोनाको उपचारका लागि चीनले दिने अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको फ्लाइट नं. आरए–४२५१ को वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने निश्चित भएको जानकारी दिनुभयो । जहाजले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउने छ । चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा यसअघि नै गरिसकेको छ ।
सहायक प्रवक्ता मिश्रले भन्नुभयो, “वैशाख २७ गते रातको ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सो जहाज पाँच घण्टा ४५ मिनेटपछि बेइजिङ पुग्ने छ र त्यहाँबाट चार सयवटा सिलिन्डर र स्वास्थ्य सामग्री लिएर वैशाख २८ गते निगमको फ्लाइट नं. आरए–४२५२ को वाइडबडी जहाज स्थानीय समयअनुसार १०ः३० बजे नेपालका लागि उड्ने छ, छ घण्टा २० मिनेटको उडानपछि वैशाख २८ गते नै नेपाल आइपुग्ने छ ।”
परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्सालले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने जानकारी दिनुभयो । स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।