आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

माधव नेपाल समूहका सांसदले आज राजीनामा दिने

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार ०८:०६ मा प्रकाशित (२ साल अघि) ६३८ पाठक संख्या

काठमाडौँ । नेकपा एमालेको विवाद पार्टी विभाजनतिर धकेलिएको छ । पार्टी विवाद मिलाउन माधव कुमार नेपाल पक्षले राखेको प्रस्ताव मान्दै नमान्ने अध्यक्ष केपी शर्मा ओलीको अडानले पार्टी विभाजनतिर धकेलिएको छ । यसै सन्दर्भमा नेपाल समूहका सांसदले सम्भवतः आज आइतबार राजीनामा बुझाउने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिँदै छन् । तर, त्यसको अघिल्लो दिन आज २६ गते राजीनामा दिन लागेका हुन् ।

पार्टीको विवाद मिलाउन र प्रधानमन्त्रीलाई एमालेभित्रबाट सबै मत विश्वासकै मत खसाल्नको लागि लगातार भएको छलफल निष्कर्षतिर नजाने पक्का भएपछि नेपाल समूह राजीनामाको लागि तयार भएका हुन् ।

नेपाल समूहका करिब ३२ जना सांसदमध्ये तत्काल प्रत्यक्ष निर्वाचित सांसदले राजीनामाका लागि हस्ताक्षर गरिसकेको एक नेताले बताए ।

ती नेताका अनुसार करिब २० जनाले राजीनामा पत्रमा हस्ताक्षर गरेर नेपाललाई बुझाइसकेका छन् । समानुपातिक सांसदले भने तत्काल राजीनामा नदिने बुझिएको छ ।