आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

दोलखाको भीमेश्वरलाई पसिना आयो

गोकर्णेश्वर खबर२५ बैशाख २०७८, शनिबार २०:२३ मा प्रकाशित (२ साल अघि) ४१८ पाठक संख्या

काठमाडौँ– दोलखाको सदरमुकाम चरिकोट नजिकै रहेको ऐतिहासिक भीमेश्वरको मूर्तिमा पसिना आएको छ । मन्दिरको ड्युटीमा रहेका सुरक्षाकर्मीले मुर्तिमा पसिना देखिएको जानकारी गराएका छन् ।

यस सम्बन्धमा गुठी र पुजारीले त्यहाँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव घिमिरेलाई पनि जानकारी गराएको बताईएको छ। गत वर्ष कोरोना संक्रमणको पहिलो लहर आउनुअघि यस्तै भएको थियो ।

शनिबार मध्याह्न १२ः१५ देखि पटक पटक १ः३० बजेसम्म पसिना आएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । सो समयमा प्रचलित परम्परा अनुसार मन्दिरका पूजारी तथा गुठियारहरूले पूजापाठ गरेका छन् । साथै मन्दिरको मुख्य शिलामा पसिना आएसँगै वैशाख २६ गते (भोलि) राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भीमेश्वर भगवानको महाप्रसाद पठाउने व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले जानकारी दिए ।

०५८ सालको दरवार हत्याकाण्डलगायत ०७२ को भूकम्पजस्ता अनेक घटनाको संकेतस्वरुप भीमसेनलाई पसिना आउने गरेको छ ।

किम्वदन्ती अनुसार पाँच पाण्डवहरू गुप्तवास जाने बेलामा यही भीमसेन मन्दिरको केही पूर्व तर्फको चामपूजा भन्ने डाँडामा बसी श्री गौरी शंकरको प्रार्थना गरेका थिए ।

भीमेश्वरलाई भविष्य सूचकको रूपमा पनि मानिन्छ । जानकारी अनुसार विसं १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते पनि भिमसेनको मुर्तिमा पसिना आएको थियो ।

यी सालहरूमा पसिना आएको ६ महिना भित्र देशमा राजनैतीक, प्राकृतिक या दरबारमा अकल्पनिय घट्ना भयो भन्ने जानकारहरु बताउँछन् ।

स्थानीयहरुका अनुसार भीमसेनको मूर्तिमा पसिना आउँदा पसिना पुछेको कपास पहिले–पहिले राजदरबार पठाउने र त्यहाँबाट बलि पूजा पठाउने चलन रहेको थियो ।