आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

कोरोनाबाट पत्रकार दिनेश दाहालको मृत्यु

गोकर्णेश्वर खबर२५ बैशाख २०७८, शनिबार १५:२९ मा प्रकाशित (२ साल अघि) ३३१ पाठक संख्या

काठमाडौँ– कोरोना संक्रमित पत्रकार दिनेश दाहालको मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि उपचाररत उनको उपचारकै क्रममा निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको अल्पायुमै निधन भएको उल्लेख गरेका छन् ।

वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको आज बिहान उपचारको क्रममा निधन भएको हो ।

दाहाल विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महासंघले जनाएको छ ।

स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

दाहालको निधनसँगै नेपालमा कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ । ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित छन् ।