आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

ओलीसँग कुनै सहमति भएको छैन : नेता नेपाल

गोकर्णेश्वर खबर२४ बैशाख २०७८, शुक्रबार १२:३८ मा प्रकाशित (२ साल अघि) १९५ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका नेता माधव नेपालले आफूहरूले वार्ता र लचकता अपनाउने बताएका छन्। तर अहिलेसम्म कुनै पनि सहमति नभएको उनको भनाइ छ।

पछिल्लोपटक एमालेभित्र देखिएका विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरू छलफलमा छन्।

यसैतर्फ संकेत गर्दै नेता नेपालले शुक्रबार बिहान अहिलेसम्म कुनै पनि सहमति नभएको बताएका हुन्।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो,’ उनले भनेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।’

उनले सहमतिका लागि केही अडानसमेत दोहोर्‍याएका छन्।

‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो,’ नेता नेपालले भनेका छन्, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

केही मिडियाहरूमा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालसँग बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले कुराकानी गरेको र त्यहाँ उनीहरूबीच विवाद मत्थर पार्ने सहमति भएको समाचार आएका थिए।

नेपाल पक्षीय नेताहरूले भने नेता नेपालले राष्ट्रपति भण्डारीलाई छुट्टै भेटेको भए पनि प्रधानमन्त्री ओली र नेपाल एकसाथ शितल निवास नगएको बताएका छन्।

बिहीबार साँझ नेता नेपाल शितल निवासमा गएका थिए। प्रधानमन्त्री ओलीले भने नेपाल पक्षीय नेताहरू घनश्याम भुषाल र योगेश भट्टराईसँग राति ८ बजेदेखि झन्डै तीन घन्टा बालुवाटारमा छलफल गरेका थिए।