आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कोरोना संक्रमितको उपचार गर्न सक्दिनँ भनेर हात उठाउने सरकार असाध्यै गैरजिम्मेवार : नेता पुन

गोकर्णेश्वर खबर१८ बैशाख २०७८, शनिबार १५:४९ मा प्रकाशित (२ साल अघि) ४६० पाठक संख्या

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताएका छन् । उनले कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागेर गम्भीर लापरबाही गरेको आरोप लगाए ।

सरकारले नै लापरबाही गरेर भिड जम्मा गरेको र पछि ‘सक्दिनँ’ भनेर हात उठाउनु गैरजिम्मेवार भएको उनको भनाइ छ । नागरिकको स्वास्थ्योपचारमा ध्यान पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।

“आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, सुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउने असाध्यै गैरजिम्मेवार कुरा हो । यसरी सरकार, राज्य केही पनि चल्न सक्दैन । यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्योपचार, चेकजाँच, परीक्षणका कुराहरुलाई ध्यान दिनुपर्छ,” उनले भने ।

नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने बताए । उनले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग पनि गरे ।