आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

दाङमा आजबाट निषेधाज्ञा सुरु,बैंकसँगै सरकारी कार्यालय समेत बन्द हुने

गोकर्णेश्वर खबर१७ बैशाख २०७८, शुक्रबार ०८:५७ मा प्रकाशित (२ साल अघि) ५२१ पाठक संख्या

काठमाडौं । दाङ जिल्लामा शुक्रबार बिहानबाट निषेधाज्ञा लागू भएको छ । वैशाख १७ गते विहान ६ बजेदेखि वैशाख २५ गते साँझ ६ बजसेसम्म दाङ जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

दाङ जिल्लामा पनि कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहेकाले निषेधाज्ञा अवधिभर अतिआवश्यकीय बाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको छ । दाङमा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गरिएको छ ।

अतिआवश्यकीय सामान खरिदबिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म पसलहरु खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अति आवश्यकीय सामान ढुवानी गर्न गाडीको प्रयोग गर्नु पर्ने भएमा पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ । खानेपानी, दूध, तरकारी, इन्धन, औषधि, विद्युत आपूर्ति, टेलिफोन, फोहोरमैला व्यवस्थापन र पुशपन्छीको दानासँग सम्बन्धी कामलाई अतिआवश्यकीय सेवा अन्तर्गत राखिएको छ ।
पूर्वपश्चिम राजमार्ग भएर दाङ हुँदै गुड्ने गाडीहरुलाई यात्रु उठाउन र झार्न निषेध गरिएको छ ।

जिल्लामा रहेका सम्पूर्ण विद्यालय एवम् कलेजहरुको पठनपाठन र विद्यालयको परीक्षा पूर्णरुपमा बन्द गरेर अनलाइन क्लास सन्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।