आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

‘फेक मास्क’ लगाएर प्रयांक गर्ने दुई युटुबरमाथि कारबाही

गोकर्णेश्वर खबर१७ बैशाख २०७८, शुक्रबार ०८:१३ मा प्रकाशित (२ साल अघि) २३५ पाठक संख्या

जकार्ता । इन्डोनेसियाको बालीमा कोरोना सम्बन्धी स्थानीय नियमको उल्लंघन गर्दै ‘फेक मास्क’ लगाएर प्रयांक गर्ने दुईजना युटुबरहरूलाई कारबाही हुने भएको छ ।

त्यही प्रयांक भिडियोका कारण अहिले स्थानीय सरकारले जोश पेलेर लिन र लेइआ सेको पासपोर्ट जफत गरेको छ । अब उनीहरूलाई इन्डोनेसियाबाट आफ्नै देश फिर्ता पठाउनेबारे समेत निर्णय भइरहेको बताइएको छ ।

भिडियोमा पहिले लेइआलाई मास्क नलगाएका कारण एउटा स्टोर भित्र प्रवेश गर्न दिइँदैन । त्यसपछि उनले आफ्नो अनुहारमा पेन्ट गरी फेक मास्क बनाएर फेरि त्यही स्टोरमा जाँदा उनलाई त्यहाँ भित्र छिर्न दिइन्छ । अप्रिल २२ मा राखिएको सो भिडियो केहीबेरमै भाइरल बनेको थियो । युट्युबमा लिनका ३४ लाख सस्क्राइबर छन् ।

इन्डोनेसियाका धेरै ठाउँमा हाल मास्क लगाउन अनिवार्य गरिएको छ । पहिलोपटक गल्ती गरेकाहरूलाई जरिवाना गर्ने गरिएको छ भने विदेशीहरूलाई चाहिँ तिनको देश फिर्ता पठाइनेसमेत नियम रहेको छ । यसमा लिन र सेको यो पहिलो नियम उल्लंघन भएपनि उनीहरूको प्रयांक भिडियो सामाजिक संजालमा अधिक चर्चामा आएपछि त्यसले बालीको आधिकारिक निकायको समेत ध्यानाकर्षण गराएको हो । यसपछि उनीहरू दुवैको पासपोर्ट जफत गरिएको छ । लिन ताइवानकी हुन् । उनी अमेरिकामा बस्छिन् भने से चाहिँ रुसी नागरिक भएको बताइएको छ ।

यस्तोमा अहिले उनीहरूलाई फिर्ता पठाउनेबारे सरकारी निकायहरूले निर्णय लिइरहेको बालीस्थित मानव अधिकार तथा कानुन मन्त्रालयका प्रवक्ताले बताए ।

यस घटनापछि लिनले सो भिडियो आफ्नो युट्युब च्यानलबाट हटाएकी छन् । उनले इस्टाग्राममार्फत अर्को भिडियो राखेर माफी पनि मागेकी छन् । भिडियोको उद्देश्य कानुनको अपमान गर्नु या मास्क नलगाउन प्रोत्साहन गर्नु नभएको र केबल मनोरञ्जनका लागि मात्र गरिएको उनको भनाइ छ ।

आफू युट्युबमा ‘कन्टेन्ट निर्माता’ भएकाले आफ्नो काम नै मानिसहरूलाई मनोरञ्जन गराउनु रहेको उनले बताइन् । यसो भनिरहँदा भिडियोमा दुवैले मास्क लगाउँदै माफीका लागि अपील गरेका छन् ।

यसअघि पनि इन्डोनेसियाका मास्क नलागाउने विदेशीहरूलाई अनौठो सजाय दिएको खबर चर्चामा आएको थियो । अष्ट्रेलियन न्युज च्यानलमा प्रशारण गरिएको समाचारअनुसार मास्क लगाउन अल्छि गर्ने पर्यटकलाई प्रहरीले ‘पुसअप्स’ र उठबस लगायतका क्रियाकलाप गर्न लगाएका थिए । सिएनएनबाट