आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

नवनियुक्त खेलकुद मन्त्री मनाङे भन्छन्- ‘यो सरकार दुई हप्तामा जान सक्छ’

गोकर्णेश्वर खबर१६ बैशाख २०७८, बिहीबार २१:२१ मा प्रकाशित (२ साल अघि) ४७३ पाठक संख्या

पोखरा । गण्डकीका नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले यो सरकार दुई हप्तामा जान सक्ने बताएका छन्।

मन्त्रीको सपथ लिएपछि उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई समर्थन गर्ने बताए।

‘यो सरकार दुई हप्तामा जान सक्छ। दुई हप्ता भए पनि काम गर्ने हो। नयाँ मान्छे आउँदा पनि काम गर्नैपर्छ। मैले पृथ्वी दाइलाई सपोर्ट गर्नुपर्‍यो,’ उनले भने।

मन्त्री पद गए पनि आफू सांसदका रूपमा रहिरहने मनाङेले बताए। उनले दुई हप्तामा रिजल्ट ल्याउने समेत दाबी गरे।

उनले भने, ‘मन्त्री पद जाला रे। सांसद जितेर आएको हो। सांसद पद त होला नि। म २ हप्ता, १० दिनमा रिजल्ट ल्याउँछु। सबैले सहयोग गर्नुहोला।’

खेलाडीलाई खेल्न मात्र नलगाउने भन्दै उनले जीविकोपार्जन गर्न पनि सघाउने प्रतिवद्धता जनाए।

‘मनाङ मर्स्याङ्दी चलाउँदा मलाई आइडिया आएको थियो, अहिले खेलाडीले नै ५ मिनेटमा आइडिया दिन्छ’, मनाङेले भने, ‘हामीले काम गर्नुपर्छ।’

खेलाडीको भविष्य सुरक्षित पार्न उनीहरूसँगै सल्लाह गर्ने समेत उनले बताए।

खेलाडीले पनि कर तिर्ने भन्दै उनीहरूले तिरेको कर सही ठाउँमा प्रयोग गर्नुपर्ने मनाङेले बताए।

‘ट्याक्स उनीहरूले तिरेको हो, हामीले सही ठाउँमा प्रयोग गर्नुपर्छ’, मनाङेले भने, ‘दालभात खाएर मासुभात खाएर मात्र हुँदैन।’

स्वतन्त्र उम्मेदवार बनेर मनाङबाट चुनाव जितेका मनाङेले आफू एमालेसँगै लडेर चुनाव जितेको समेत बताए।