FLASH NEWS
आज: २९ बैशाख २०७८, बुधबार | Wed, 12, May, 2021

नवनियुक्त मन्त्री मनाङ्गेले भने- ‘मुख्यमन्त्रीले दौरा सुरुवाल किन्न जाऊ भन्नुभयो,किन्न गएँ’

गोकर्णेश्वर खबर१६ बैशाख २०७८, बिहीबार २०:०० मा प्रकाशित (१ हफ्ता अघि) ९८ पाठक संख्या

पोखरा । दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ गण्डकी प्रदेश सरकारको मन्त्री बनेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उनलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।

शपथ ग्रहणका लागि प्रदेश नीति तथा योजना आयोगको हलमा पुगेका मनाङ्गेले केहीबेर सञ्चारकर्मीहरुसँग कुरा गरे । युवा तथा खेलकुद किन रोज्नुभयो भन्ने प्रश्नमा उनले भने, युथका लागि बिजनेस प्लान छ । स्पोर्टसमा त हामीसँग टिम राम्रो छ ।’

त्यसो भए कार्ययोजना अहिले नै तयार नै छ भन्ने प्रश्नमा उनले अघि भने, ‘धेरै गर्नुपर्ने देश होइन, ४,५ वटा काम प्रभावकारी ढंगले गर्‍यो भने पुग्छ ।’

केके छन् भन्ने खुलाउन चाहेनन् । तर आफूले पहिल्यै काम गरेकाले ‘नलेज’ पनि रहेको बताए ।

मन्त्री तपाईंले माग्नुभएको कि मुख्यमन्त्रीले अफर गरेको भन्ने प्रश्नमा उनले भने, ‘काम गर्ने वातावरण बन्यो भने गर्नु भन्नुभयो, मैले हुन्छ भनें ।’

सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद बनाइएको छ । धेरैवटा विभागलाई एउटै मन्त्रालयमा राख्नुहुन्न भन्नेमा आफ्नो र मुख्यमन्त्रीको मत मिलेको उनले सुनाए । तर आफ्नो मन्त्रालय कुन भवनमा हुन्छ भन्ने थाहा नभएको भन्दै उनले भने, ‘दौरा सुरुवाल किन्न जाऊ भन्नुभयो, किन्न गएँ ।’

नयाँ हो भन्ने प्रश्नमा उनले मुन्टो हल्लाए ।

मन्त्री बन्दा कस्तो अनुभूति हुन्छ भन्ने प्रश्नमा मनाङ्गेले भने, ‘अलिअलि निद्रा चाहिं लागिरहेको छ मलार्ई । सुत्न पाएको थिएन क्या ।’