FLASH NEWS
आज: २९ बैशाख २०७८, बुधबार | Wed, 12, May, 2021

लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चार सांसदको पद चैट

गोकर्णेश्वर खबर१६ बैशाख २०७८, बिहीबार १९:२५ मा प्रकाशित (१ हफ्ता अघि) ५६ पाठक संख्या

बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।

सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् । उनीहरु चारै जना हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार, विजयकुमार र सुमनले पनि हस्ताक्षर गरेका थिए । प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै जसपाका चार सांसदलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए ।

सरकारमा सहभागी भएको विषयलाई लिएर जसपामा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच विवाद भयो । यादव पक्षले उनीहरुलाई कारबाही गर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । तर ठाकुर पक्षले त्यसको विरोध गर्दै आएका थिए ।

पछिल्लो पटक मंगलबार पनि यादव पक्षले कार्यकारिणी समितिको बैठक राखेर उनीहरुलाई कारबाही गर्न माग गरेको थियो । तर ठाकुर पक्ष बैठक बस्नै सहमत भएन ।

तर प्रदेशसभा सचिवालयले निकालेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ ।

जसपा अध्यक्ष यादव पक्षका एक नेताका अनुसार पार्टीको कार्यकारिणी समितिका ५१ मध्ये २६ जनाको वैशाख १४ गते बसेको बैठकले लुम्बिनी प्रदेशका ४ सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

एक वर्षअघि तत्कालीन समाजवादी पार्टी राष्ट्रिय जनता पार्टीबीच एकता भएर जसपा बनेपछि ५३ सदस्यीय कार्यकारिणी समिति बनाउने सहमति जुटेको थियो । जसमा समाजवादी पार्टीका २५ र राजपाका २६ जना राखिएको थियो, दुई पद रिक्त थियो ।

राजपाबाट कार्यकारिणी समितिमा रहेका रेशम चौधरी जेलमा छन् । तर तत्कालीन राजपाका महेन्द्र राय यादवले यादव पक्षलाई साथ दिएपछि तत्कालीन समाजवादी पार्टीको बहुमत पुगेको यादव पक्षका एक नेताले बताए ।