आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

बिहिवारबाट कस्ता पसल खुल्ने, कस्ता सवारी चल्ने ?

गोकर्णेश्वर खबर१३ बैशाख २०७८, सोमबार २१:०४ मा प्रकाशित (२ साल अघि) ८६७ पाठक संख्या

काठमाडाैं । कोरोना भाइरसको दोस्रो चरणको महामारीका कारण सरकारले राजधानीमा लकडाउन गर्ने निर्णय गरेको छ । बिहिवार विहान ६ बजेबाट लागु हुने गरी जारी भएको लकडाउनमा उपत्यकाको आवागमन ठप्प गर्ने निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालद्वारा जारी आदेशमा अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य सवारीसाधन जिल्लाभित्र प्रवेशमा रोक लगाइने छ ।

एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला लगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरेर मात्र सञ्चालन गर्न पाइने बताइएको छ ।

अत्यावश्यक रुपमा सवारीसाधन चलाउनेलाई पनि पास, परिचय पत्र चाहिने भएको छ । त्यस्ता सवारी पासहरु कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी भएको हुनु पर्नेछ । अस्पताल आउने जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा जानुपर्ने भए पनि प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास चाहिने भएको छ ।

त्यसैगरि लकडाउनमा खाद्य सामग्री र औषधी, स्वास्थ्य सामग्री पसलबाहेकका अन्य पसल बन्द गरिने भएको छ । खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गरिने भएको छ । सभा, सम्मेलन, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, पुस्तकालय लगायत सञ्चालन बन्द हुनेछन् भने विवाहमा बढीमा १५ जना सहभागी हुन पाउने तर स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने भएको छ ।