आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

संक्रमितले भरिन थाले अस्पतालका शय्या, डाक्टरले भने- अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनुस्

गोकर्णेश्वर खबर११ बैशाख २०७८, शनिबार १७:२५ मा प्रकाशित (२ साल अघि) ४३२ पाठक संख्या

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका श्यया भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि श्यया भरिन थालेका हुन् । यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकामा वैशाख १० गते करीब तीनगुणा दुई हजार ५५९ जना पुगेका थियो । चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत सङ्क्रमण दर रहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, पाटन ,त्रिवि शिक्षण र सशस्त्र प्रहरी बल अस्पतालमा कोराना सङ्क्रमितले अस्पतालका शय्या भरिदै गएको छ । शुक्रराज अस्पतालका २२ सघन उपचार कक्षमध्ये २० र १२ भेन्टिलेटर सङ्क्रमितले भरिएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए । उनका अनुसार ५५ आइसोलेशन श्यया पनि भरिएका छन् । दैनिक आठ–नौ जना उपचारपछि घर गएपनि त्यतिकै सङ्ख्यामा बिरामी आउने उनको भनाइ छ ।

उनले अस्पतालमा सङ्क्रमितबाट निमोनिया लागेका बिरामीलाई मात्र भर्ना गरेको जानकारी दिए । “हामीले सामान्य ज्वरो, रुघाखोकी, जिउ दुख्ने खालका बिरामीलाई भर्ना गर्ने गरेका छैनौँ”, उनले भने, “अलि जटिल खालका निमोनिया र अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र भर्ना गरेका छौँ ।”

उनले सङ्क्रमित बढ्न थालेपछि विनाकारण घरबाट ननिस्कन र निस्कनै परे मास्क, सेनिटाइजर र भौतिक दूरी कायम गर्न पनि आग्रह गरे । अहिलेको कोभिड–१९ को भाइरस युके भेरियन्ट र डलब भेरियन्ट रहेकोले सङ्क्रमण सार्नसक्ने अत्यधिक क्षमता रहेको छ ।

अहिलेको कोभिड–१९ को नयाँ स्वरुपले एक जनाबाट एक घण्टामा ६०–७० जनामा सङ्क्रमण सार्न सक्छ । उनले सङ्क्रमण नियन्त्रण बाहिर जान थालेको सर्वसाधारण आफौ सचेत हुनुपर्ने भनाइ राखे । “अहिलेको भाइरसले सङ्क्रमण लागेको चार–पाँच दिनमा नै आक्रमण गर्ने खालको छ”, उनले भने, “अहिले ५० वर्षमुनिका मानिसलाई पनि बढी सङ्क्रामक देखिएको छ ।”

यस्तै वीर अस्पतालमा पनि कोभिड–१९ का बिरामीलाई छुट्याइएको श्यया भरिन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले उपत्यकामा अहिले ७७ जना सघन उपचार कक्षमा र ४० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

मुलुकभरि एक हजार १८० सघन उपचार कक्ष र ५१२ भेन्टिलेटर रहेका छन् । तीमध्ये १७३ जना सघन उपचार कक्ष र ५७ जना भेन्टिलेटरमा सङ्क्रमितको उपचार भइरहेको छ । वीर अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा अच्युत कार्कीले १७ मध्ये १५ सघन उपचार कक्ष श्यया, पाँच भेन्टिलेटर पूरै भरिएको बताए ।

सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा कोरानाका बिरामीले भरिएका छन् । अस्पतालका कोभिड–१९ फोकल पर्सन डा प्रविन नेपालले १०० श्ययामध्ये सबै भरिएको जानकारी दिए । उनका अनुसार सङ्क्रमित बढ्दै गएपछि अस्पतालले आज थप ४० श्यया थप गर्न थालेको हो । यस्तै २० मध्ये १८ सघन उपचार कक्ष र आठमध्ये सात भेन्टिलेटर पनि सङ्क्रमित रहेको उहाँले जानकारी दिए ।

उनले अस्पतालमा भर्ना भएका बिरामी श्वास फेर्न गा¥ह्रो, ज्वरो, छाती दुख्ने, निमोनिया जस्ता समस्या रहेकाले ६० प्रतिशतलाई अक्सिजनलाई दिनु परेको जानकारी दिए । अस्पतालमा आएका बिरामीमध्ये अधिकांश ४०–५० उमेर समूहका बिरामी रहेका छन् ।

यस्तै वीरमा ७६ आइसोलेशनमध्ये ६६ वटा सङ्क्रमित रहेका छन् । उनले दैनिक आठ–नौ वटा नयाँ बिरामी आउने गरेको भन्दै दैनिक सङ्क्रमित थपिँदै गए आफूले बिरामीलाई राख्न नसक्ने बताए । उनले सानो ठाउँ भएकाले उपचार गराउन आउने बिरामी र खोप लगाउन आउने व्यक्तिमा सामाजिक दूरी कायम राख्न नसकेको जानकारी दिए । सङ्क्रमित बढ्न थालेपछि वीरले नजिकैको सर्जिकल भवनमा अबको केही दिनमा कोभिड–१९ का बिरामी राख्ने तयारी गरेको उनको भनाइ छ ।

त्रिवि अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले ५५ जना सङ्क्रमित उपचार भइरहेको जानकारी दिए । उनका अनुसार १२ जना आइसियु, ५ जना भन्टिलेटरमा र ३८ जना हाइ डिपेन्टिेन्ड युनिट (एचडियु)मा उपचार भइरहेको छ । अस्पतालमा ६० आइसियू र ५० एचडियू रहेका छन ।

उनले बिरामीलाई शुरुमा अब्जर्वेशन गरी राख्ने र समस्या देखिए आवश्यकता अनुसार आइसियू, एचडियू र भेन्टिलेटरमा राखिने बताए । अस्पतालले आइसियुमा एक जना नर्सले एक जना बिरामी र एचडियुमा एक जना नर्सले दुई जनासम्म बिरामी हेर्ने व्यवस्था मिलाएको छ । उनले सङ्क्रमित संख्या बढ्ने भएको ५० आइसोलेन श्यया थपिन थालेको जानकारी दिए ।

शुक्रराज अस्पतालका प्रमुख कन्सल्टेन्ट डा अनुप बाँस्तोलाले सङ्क्रमण पहिलोभन्दा सङ्क्रामक रहेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् । उनले सङ्क्रमण यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउनसक्ने भन्दै मानिसलाई घर बाहिर ननिस्कन अनुरोध गरेका छन् । उनका अनुसार कोभिड–१९ को अहिलेको लहरमा सङ्क्रमित सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढिरहेको छ ।

नेपालमा अहिले दुई लाख ९४ हजार ६०१ जना सङ्क्रमित, दुई लाख ७६ हजार ७५५ जना निको भएर घर फर्किएका र तीन हजार १२३ जनाको सङ्क्रमणको कारणले निधन भइसकेका छन् । यस्तै मुलुकभरि १३ हजार ५७८ होम आइसोलेशन र एक हजार १४६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये १.१ प्रतिशतमा मृत्युदर र प्रति १० लाखमा १०७।८ जना मृत्यु हुने गरेको पाइएको छ । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही रहेका छन् ।