आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

आजदेखि यी १४ जिल्लाका २५ सहरमा शिक्षण संस्था बन्द, परीक्षा भने नरोकिने

गोकर्णेश्वर खबर७ बैशाख २०७८, मंगलवार ०९:५७ मा प्रकाशित (३ साल अघि) ४४५ पाठक संख्या

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले देशभरका १४ जिल्लाका २५ सहरमा वैशाख महिनाभर विद्यालय, कलेजलगायत शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। सरकारको निर्णयअनुसार आजदेखि देशका प्रमुख २५ वटा सहरी क्षेत्रका विद्यालय बन्द भएका हुन्।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्षमुनिकालाई कोभिडले बढी असर गरेकाले वैशाख मसान्तसम्मका लागि भौतिक कक्षा बन्द गरी भर्चुअल पठनपाठनलाई निरन्तरता दिने निर्णय भएको बताए ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले उच्च जोखिम भएको स्थानमा वैकल्पिक विधिबाट पठनपाठन गराउन सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए । मंगलबारबाटै वैकल्पिक विधिबाट पठनपाठन सुरु हुने उनले बताए ।

संक्रमणका आधारमा स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई उच्च जोखिममा राखी विद्यालयलगायतका क्षेत्रमा भिडभाड नगर्न आग्रह गरेको छ । काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई उच्च जोखिमको सूचीमा राखिएको छ ।

सरकारले विभिन्न जिल्लाका उच्च जोखिम भएका स्थानीय तह तोकेरै भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको छ । काठमाडौं, भक्तपुर, ललितपुरका सबै स्थानीय तहका शैक्षिक संस्थामा भौतिक कक्षा बन्द गर्ने निर्णय भएको छ । त्यस्तै, विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा महानगरपालिकाका र इटहरी, धरान, जनकपुर, हेटौँडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगन्ज तथा धनगढी उपमहानगरपालिकाका शैक्षिक संस्था पनि बन्द हुनेछन् ।

त्यस्तै, मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर र भीमदत्तनगर नगरपालिकामा रहेका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलगायतका शैक्षिक संस्थाहरूमा पनि वैकल्पिक विधिबाट सिकाइका गतिविधि गरिनेछन् । सरकारले विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

परीक्षा नरोकिने

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले एसइईलगायतका कुनै पनि परीक्षा नरोकिने बताएका छन् । ‘परीक्षा कुनै पनि रोकिँदैन, असारमा नयाँ शैक्षिक सत्र सुरु हुन्छ,’ उनले भने ।

राष्ट्रिय परीक्षा बोर्डले १३ जेठबाट एसइई र २६ जेठदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । विश्वविद्यालयका परीक्षा सञ्चालन भइरहेका छन् ।