आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

उपत्यकासहितका ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको शिफारिस

गोकर्णेश्वर खबर३१ चैत्र २०७७, मंगलवार २०:३९ मा प्रकाशित (३ साल अघि) ७६८ पाठक संख्या

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको बढ्दो संक्रमणको त्रासका कारण काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय कम्तिमा एक महिना बन्द गर्न शिफारिस गरेको छ ।

बन्द अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयले सम्बन्धित सबैलाई भनेको छ । मन्त्रालयले विद्यालयसहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि बन्द गर्न शिफारिस गरेको छ ।

अहिले देखिएको कोरोनाभाइरस नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको भन्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयमा मंगलबार पत्रकारहरुसँग मन्त्री त्रिपाठीले १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले पनि संक्रमण रोक्न विशेष ध्यान जरुरी भएको उल्लेख गरे ।

मन्त्री त्रिपाठीले उपत्यकाका मात्र ७÷८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुने भन्दै उपत्यकासहित १५ जिल्लाका ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिसिएमसीमा प्रस्ताव गरेको जानकारी दिए ।

पछिल्लोसमय कोरोना भाइरसको नयाँ प्रकार फैलिएको र यसबाट बालबालिकासमेत उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।

नयाँ भेरियन्ट्स एकदम छिटो सर्ने र १८ वर्षमुनिका बालबालिकामा पनि सजिलै सर्ने देखिएकाले विद्यालय क्षेत्र बढी जोखिममा परेको मन्त्रालयको निष्कर्ष छ ।