आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

वायु प्रदूषणको सूचीमा काठमाडौँ फेरि एक नम्बरमा

गोकर्णेश्वर खबर३१ चैत्र २०७७, मंगलवार ०९:४४ मा प्रकाशित (२ साल अघि) २३७ पाठक संख्या

काठमाडौँ– विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौँ फेरि एक नम्बरमा पुगेको छ ।

प्रदूषण बढ्दा काठमाडौँ उपत्यका आज धुम्म देखिएको छ । प्रदूषित वायुको कण र देशका विभिन्न स्थानमा लागेको डढेलोको धुँवा उपत्यकाको आकाशमा थुप्रिदा धुम्म भएको मौसमविद् बताउँछन् ।

मौसमविद् सचिना शाक्यका अनुसार अझै केही दिनयता काठमाडौँमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने देखिएको छ ।

प्रदूषण बढेको भन्दै सरकारले यही चैत्र १८ देखि २१ गतेसम्म ४ दिनसम्म विद्यालय बन्दसमेत गरेको थियो । यो बीचमा वर्षा भएको तथा हावा चलेर केही खुलेको काठमाडौँ उपत्यका फेरि प्रदूषित बनेको हो ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार बिहान साढे ८ बजेको मापनमा सबैभन्दा धेरै प्रदूषण धादिङको एयर क्वालिटी इन्डेक्स (एक्यूआई)  ३४४  छ ।

तर काठमाडौँ उपत्यका भक्तपुर, रत्नपार्क, भैँसेपाटीलगायतको क्षेत्रको एक्यूआई २ सयभन्दा कम छ ।

सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ । यसआधारमा काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित शहरमा परेको छ ।

आइक्यू एअरको बिहान ८:४० बजेको अपडेट अनुसार काठमाडौँको वायुमण्डलमा एअर क्वालिटी इन्डेक्स एक्यूआई) २३३ पुगेको छ ।